धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको हो ।
शाहविरुद्धको प्रस्तावमा ९ जना सांसदले हस्ताक्षर गरेका छन् । प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । उनीहरू मध्ये प्रकाश देउवा भने नेपाल बाहिर छन् । हाल सक्रिय रहेका १७ सांसदमध्ये ९ जना सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गरेको एक सांसदले जानकारी दिएका छन्।


यसअघि लामो समयदेखि कांग्रेसकै केही सांसदहरूले मुख्यमन्त्री शाहको राजीनामा माग गर्दै आएका थिए। तर उनले उक्त विषयलाई बेवास्ता गरेपछि मंगलबार अविश्वासको प्रस्ताव नै दर्ता गरिएको हो।
मुख्यमन्त्री शाहले आफूलाई बहुमत सांसदहरूको समर्थन रहेको दाबी गर्दै, यदि बहुमत सदस्यहरूको समर्थन नरहे दलको नेता पद छाड्न तयार रहेको चुनौती दिएका थिए। त्यसपछि मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरिएको थियो।
यसैबीच, केही समयअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापा धनगढी आएका बेला पनि सांसदहरूले मुख्यमन्त्री तथा मन्त्रीहरू परिवर्तन गर्नुपर्ने माग राखेका थिए।
















