काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले द्विपक्षीय सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति भारतले मंगलबार प्रतिक्रिया जनाएको छ। दुई छिमेकी देशबीचको आपसी मामिलामा ‘कुनै पनि तेस्रो पक्षको भूमिका नरहने’ जिकिर भारतले गरेको हो।

सञ्चारकर्मीका जिज्ञासाहरूको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्रीको भनाइलाई भारतले नोटिसमा लिएको बताउँदै सीमा सम्बन्धी विषयहरूलाई विद्यमान द्विपक्षीय संयन्त्रमार्फत सम्बोधन भइरहेको कुरामा जोड दिए।

‘हामीले प्रधानमन्त्रीको टिप्पणी हेरेका छौँ। भारत-नेपाल सीमाको करिब ९८ प्रतिशत क्षेत्रको सीमांकन भइसकेको छ। दशगजा (नो म्यान्स ल्यान्ड) अतिक्रमणसँग सम्बन्धित विषयहरू सहित केही मुद्दाहरू अझै बाँकी छन्। त्यस्ता मामिलाहरूलाई सम्बोधन गर्न हामीले द्विपक्षीय संयन्त्रहरू स्थापना गरेका छौँ,’ जैसवालले भने।
गण्डक नदीले आफ्नो बहाव परिवर्तन गर्दा निश्चित क्षेत्रहरूमा अहिलेको जस्तो परिस्थिति सिर्जना भएको उल्लेख गर्दै उनले हाल दशगजा क्षेत्रमा सुरक्षाकर्मीहरू तैनाथ रहेको समेत बताए।


















