अछामको वर्षाली खोलाको पुल अलपत्र

अछाम– अछामको ढकारी गाउँपालिकालाई सदरमुकामसँगको सडक सञ्जालसँग जोड्ने वर्षाली खोलामा बन्न लागेको पुल अलपत्र बनेको छ । बजेट अभावको कारण सो खोलामा बन्न लागेको पुल अलपत्र बनेको हो ।
गाउँपालिकाको केन्द्र ढकारीसम्म नियमित बस चले पनि वर्षाको समयमा खोलामा पानीको बहाव बढ्ने भएकाले यातायात अवरुद्ध हुने गरेको छ ।

Karma Consultancy

पुलको काम अलपत्र परेको विषयमा आफूले पटक पटक पूर्वाधार विकास कार्यालयलाई सोध्ने गरेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउँदले बताए । ‘पुलको काम अलपत्र छ, अहिलेसम्म किन बनेन भनेर जनताले स्थानीय तहलाई आक्रोश पोख्छन् । स्थानीय तहले पुल बनाउनका लागि योजना अगाडि सार्न सक्दैन । स्थानीय तहको योजना होइन भनेर चुप लाग्न पनि मिल्दैन । समस्या हामीलाई भएको छ,’ उनले भने ।

citizen security services

पूर्वाधार विकास कार्यालय साँफेबगरलाई एक साताअघि पुलको काम किन नगरेको भनेर जवाफ माग्दा संघीय सरकारबाट बजेट नआएकाले काम रोकिएको जवाफ आएको अध्यक्ष साउँद बताउँछन् । ‘बजेट छैन भनेर काम गर्दागर्दै छोड्न मिल्दैन । बजेट छैन भने स्थानीय तहलाई हस्तान्तरण गर्नुस्, पालिकाबाट हामी बनाउँछौं, यो अति आवश्यक सडक हो भनेर पूर्वाधार विकास कार्यालयलाई फेरि अर्को पत्र लेखेर पठाएका छौं,’ उनले भने ‘दोस्रो पत्रको जवाफ आएको छैन । बजेट नभएर पुल नै नबन्ने अवस्था हो भने हामी जसरी पनि बनाउँछौं ।’

attariya hospital

२०७९/८० मा ४ करोड लागतमा ठेक्का लागेको र गत कात्तिकमा सम्झौता मिति पनि सकिएको पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख जंगबहादुर थापाले बताए । उनले यसअघि एक करोड बराबरको काम भएको र सो को भुक्तानी पनि भैसकेको बताए । संघ सरकारको संघीय ससर्त अनुदान मार्फतको आयोजना भएकाले आयोजना सम्पन्न गर्नका लागि आवश्यक बजेट माग गरिएको तर अहिलेसम्म बजेट आउने सुनिश्चत नभइसकेको उनले बताए । उनका अनुसार सो खोलामा पुल निर्माण सम्पन्न गर्नका लागि अब आवश्यक बजेट ३ करोड हो । तर चालु आर्थिक वर्षमा ४० लाख मात्रै विनियोजन भएको उनले बताए ।

‘चालु आवमा वर्षाली खोलामा बन्ने पुलका लागि ४० लाख बजेट मात्रै आएको छ । आवश्यक बजेट तीन करोड हो,’ उनले भने, ‘निर्माण व्यवसायीलाई काम किन नगरेको भनेर जवाफ माग्दा असार मसान्तमा पुलको सबै काम सम्पन्न गर्छौं, रकम भुक्तानी हुने निश्चित गर्नुस् भन्छन् ।’ ठेकेदार कम्पनी नन्देगडा एसएमपी जेभीले असार मसान्तसम्म ३ करोड भुक्तानी गर्न सक्ने सुनिश्चतता कार्यालयले दिए काम गर्न तयार रहेको बताएको थापाको भनाइ छ ।

पुल बन्न सुरु भएपछि हर्षित बनेका स्थानिय भने पुल अलपत्र पर्दा निराश बनेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.