
धनगढी – ‘छैठौं सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले मुख्य प्रायोजन गर्ने भएको छ। यससँगै अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ रहनेछ।
सम्बन्धित सम्झौतामा एसपीएका प्रबन्ध निर्देशक सुवाश शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकबीच हस्ताक्षर भएको छ। शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै आगामी वर्षहरूमा पनि निरन्तर सहकार्य गर्ने बताए।
यसअघि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले मुख्य प्रवर्द्धकका रूपमा साथ दिन सम्झौता गरिसकेको छ।
अवार्डमार्फत २०८१ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई सम्मान गरिनेछ। आठ विधामा अवार्ड प्रदान गरिनेछ, जसअन्तर्गत उत्कृष्ट खेलाडी (पुरुष/महिला), उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, तथा सुदूरपश्चिम आइकन (पुरुष/महिला) समावेश छन्।
विजेताहरूलाई नगद २० देखि ३५ हजार रुपैयाँसम्म पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ।
















