अत्तरिया– कैलालीको अत्तरियामा सोमबार देखी सुरु भएको सिवाइसी स्पोट्र्स लिगको दोस्रो दिनको खेलमा सिवाइसी हाटखोली गाँजरी र सिवाइसी दोगडे फुलबस्ती विजयी भएका छन । मंगलबार भएको पहिलो खेलमा हाटखोलीले सिवाइसी भल्काधामलाई पराजित गरेको हो भने दोगडेले सिवाइसी मछेली खोलालाई पराजित गरेको हो ।
मंगलबारको पहिलो खेलमा भल्काधामलाई २ विकेटले पराजित गर्दै हाटखोली विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको भल्काधामले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०८ रन बनाउन सक्यो । भल्काका लागि कमल कडायतले ३०, धर्मराज जोशीले १९ र किसन भाटले १८ रनको योगदान दिए ।


बलिङमा हाटखोलीका योगेश भट्टले ३ तथा कुन्दन भाट र खेमराज जोशीले २/२ विकेट लिए । १०९ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको टीम हाटखोलीले १६.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसका लागि खेमराज जोशीले २३, योगेश भट्टले २० तथा सुदन भट्टले १७ रनको योगदान दिए । बलिङमा भल्काधामका कृष्णप्रसाद भण्डारीले ३ तथा गिरिस सिँह र आशिष भट्टराईले २÷२ विकेट लिए ।
यस्तै मंगलबार नै भएको दोस्रो खेलमा टीम मछेलीखोलालाई ७ विकेटले पराजित गर्दै टीम दोगडे फुलबस्ती विजयी भएको छ । टस हारेर व्याटिङको निम्तो पाएको मछेली खोला १७.१ ओभरमा ११८ रनमा अलआउट भयो । जसमा सन्दिप बिष्टले २४ र रमेश कडायतले १८ रनको योगदान दिए । बलिङमा टीम दोगडेका राजन सिँजापतिले ४ विकेट लिए भने सागर राईले ३ तथा लोकराज भट्टले २ विकेट लिए ।
११९ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको टीम दोगडेले १३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा ग¥यो । उसका लागि लोकराज भट्टले ३६ र विकास सोतीले ३३ रनको अविजित योगदान दिए । यस्तै दिपेश बोहराले ३३ रन बनाए । बलिङमा भरत साउँद, रमेश कडायत र दिपेन्द्र साउँदले १/१ विकेट लिए ।
अत्तरियामा रहेको न्यू सृजनशिल युवा क्लबले वार्षिक कार्यक्रम अनुसार प्रतियोगिताको आयोजना गरेको हो । जसमा क्रिकेट प्रतियोगिता सञ्चालनमा रहेको छ भने यसलगत्तै फुटबल र भलिबल प्रतियोगिता हुने क्लबका अध्यक्ष नरबहादुर राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिता अन्तरगत बुधबार पनि दुई ओटा खेलहरु सञ्चालन हुनेछन ।
















