खाेज्नुहाेस

अछाम दरबारको पुनःनिर्माण सम्पन्न, उप–प्रधानमन्त्री सिंहले गरे उद्घाटन

Image

अछाम – ऐतिहासिक अछाम दरबारको पुनःनिर्माणको काम सकिएको छ । माओवादी द्वन्द्वका बेला २०५८ फागुन ४ गते ध्वस्त भएको अछाम दरबारको पुनःनिर्माणको काम २०६५ असार २४ गते सुरु भएको थियो । पुनःनिर्माण सुरु भएको १६ वर्ष पछि काम सम्पन्न भएर सोमबार उप–प्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री सिंहले देशमा रहेका सम्पदा र संरचनाको विकास, विस्तार गरेर त्यसबाट आम्दानीको स्रोत बनाउन सकिने बताए । उनले अछाम दरबारको निर्माणमा बाँकी रहेका काम र मङ्गलसेन बजार क्षेत्रको विकासमा मन्त्रालयबाट सहयोग गरिने बताए ।

attariya hospital
navjiwan hospital

दरबार हस्तान्तरण कार्यक्रममा अछाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल लगायतको सहभागिता रहेको थियो ।

अछाम दरबार निर्माणका लागि राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालिका र कुँवर गरी पाँच निर्माण कम्पनीले २ करोड २५ लाखमा ठेक्का सम्झौता गरिएको थियो । यीमध्ये कुँवर कम्पनीका सञ्चालक मीनबहादुर कुँवरका नाममा अख्तियारी आएपछि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लिएर बाहिरिएका थिए । पछि दरबार निर्माणको जिम्मा राजेन्द्र र साउद कन्स्ट्रक्सनले लिएको थियो ।

अछाम दरबार बिस १८०० मा मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुरको पालामा विसं १९३५ मा निर्माण भएको इतिहास छ । सरकारले विसं २०२९ मा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेको बताइन्छ ।