अत्तरिया – कैलालीको धनगढीबाट प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । सोमबार धनगढीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागू औषध सहित ६जनालाई पक्राउ गरेको हो ।


धनगढी उपमहानगरपालिका – १९ लल्लिपुरबाट स्थानीय २७ वर्षीय उपेन्द्र रावल र १६ वर्षीय किशोर ९३० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका – १२ “बी” गाउँबाट “ए” गाउँ बस्ने ३५ वर्षीय शेर बहादुर भण्डारी र २१ वर्षीय आशिष् ढाँटलाई ८५० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् ।

यस्तै सोमबार नै धनगढी उपमहानगरपालिका – २ त्रिनगर भन्सार ब्यारेलबाट सुपप्र०१(०१२ प ७४९५ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका – ५ का १९ वर्षीय विनोद गिरी र मोटरसाइकलमा पछाडि सवार बाजुराको बुढीगंगा नगरपालिका – ४ का २३ वर्षीय दीपेन्द्र खाती पक्राउ परेका छन् । प्रहरीले विनोदले लगाएको हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ५ ग्राम १०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएपछि दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।