अछाम– अछाममा स्थानियको धरापमा वयस्क चितुवा फसेको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका–७ तोसी छिप्टेमा स्थानीयले थापेको धरापमा वयस्क चितुवा फसेको हो ।
सो क्षेत्रमा जंगली जनावरले गाई, भैंसी र बाख्राहरूलाई आक्रमण गर्न थालेपछि स्थानीयले सुरक्षा उपायस्वरूप धराप थापेका थिए । सो धरापमा शुक्रबार बिहान करिब ११ः३० बजेतिर चितुवा परेको स्थानियले बताएका छन ।


घटनास्थल नजिकै करिब ५÷६ वटा घरहरू रहेकोले संभावित जोखिमलाई मध्यनजर गर्दै प्रहरी चौकी तुर्माखाँदबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित भएको छ । प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै निगरानी बढाएको छ ।
चितुवाको उद्धारको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा कञ्चनपुरको टोलीलाई बोलाईएको डिभिजन बन कार्यालय अछामका प्रमुख जनक पाध्यायले जानकारी दिए । उनले समन्वय गर्ने टोली फिल्डमै भएपनि उद्धारका लागि तालिम प्राप्त टोली आवश्यक पर्ने भएकाले कञ्चनपुरबाट बोलाईएको बताए । उनले टोलीले भोली बिहानसम्म चितुवाको उद्धार गर्ने बताए ।
‘कहिलेकाँकी धरापमा परेको चितुवा आत्तिएर भाग्न खोज्दा मर्ने तथा भाग्न नै सफल हुने लगायत हुन्छ’ उनले भने ‘त्यसो भएको खण्डमा कुरा बेग्लै हो, नत्र टोलीले भोली बिहानसम्म उद्धार गरिहाल्छ ।’ सम्बन्धित स्थानमा बन कार्यालयको टोली, प्रहरी लगायतको उपस्थिति समेत रहेको पाध्यायले बताए ।
















