अत्तरिया – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी भीम सार्कीले पछिल्लो समय नेपाली क्रिकेट माथि उठिरहेको बताएका छन् । मंगलबार अत्तरियामा पत्रकारहरूसँग कुरा गर्दै उनले नेपाल क्रिकेट संघले र खेलाडीहरूका कारण क्रिकेट माथि उठिरहेको बताएका हुन ।

‘पछिल्लो समय नेपाली क्रिकेट केही राम्रो भइरहेको छ’ उनले भने ‘क्यानका पदाधिकारीहरूले खेलाडीलाई चाहिने सर्पोटहरू उपलब्ध गराइराख्नुभएको छ भने खेलाडीहरूले पनि मेहनत गरी राख्नुभएको । त्यसैले पनि नेपाली क्रिकेट अहिले विगतको भन्दा फरक रूपमा गइरहेको छ ।’

उनले राष्ट्रिय क्रिकेटमा जम्नका लागि धेरै मेहनत आवश्यक हुने कुरा पनि औँल्याएका थिए । उनले हरेक प्रतियोगिताले खेलाडीहरूलाई आत्मविश्वास दिने बताए । ‘बिचमा अलिकति नराम्रो भएको थियो, यो टुर्नामेन्टमा राम्रो प्रदर्शन भएको छ, यो टुर्नामेन्टले कन्फिडेन्स बढाएको छ’ उनले भने ।


राष्ट्रिय टोलीमा उत्कृष्ट फिल्डीङका कारण पनि चिनिएका उनले कञ्चनपुरका प्राय सबै खेलाडीहरूको फिल्डीङ उत्कृष्ट नै रहेको बताए । ‘हामीले कञ्चनपुरको खुलामञ्चमा क्रिकेट खेल्दा नेट नभएको भएर फिल्डीङ धेरै गर्नुपथ्र्याे, त्यसैले पनि कञ्चनपुरका खेलाडीहरूको फिल्डीङ राम्रो भएको हो जस्तो लाग्छ’ उनले भने ।
एक दिवसीय प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर किन हुन्छ भन्ने प्रश्नमा उनले धेरै घरेलु प्रतियोगिताहरू नभएका कारणले पनि त्यसो भएको बताए । उनले नेपालमा एक दिवसीय प्रतियोगिताहरू एकदमै न्यून हुने भएका कारण खेलाडीहरूले सोच अनुसारको प्रदर्शन गर्न नसकेको अवस्था रहेको बताए । उनले भने– ‘नेपालमा ओडिआई खेलमा त्यति धेरै घरेलु प्रतियोगीताहरु हुँदैनन् त्यसैले केही कमजोर प्रदर्शन भएको होला । पछिल्लो समय प्रधानमन्त्री कपमा धेरैले अवसरहरू पाए । अब बिस्तारै ओडिआइमा पनि विकास हुँदै जान्छ ।’
भिडियो
सम्बन्धीत समाचार : अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान