अत्तरिया– धनगढीमा आयोजना गरिएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलाडीहरुलाई सम्मान गरिएको छ । मंगलबार गोदावरी नगरपालिका र सिवाइसी युवा क्लबले खेलाडीहरुलाई सम्मान गरेको हो ।

नगरपालिका कार्यालयमा नगरप्रमुख विरेन्द्र भट्टले खेलाडीहरु, टिम कोच, व्यवस्थापक लगायतलाई टीका खादाका साथ मायाको चिनोले सम्मान गरेका थिए । सम्मान पश्चात बोल्दै उनले राष्ट्रिय प्रतियोगिताको विजेता बनेर आएको सिवाइसी अत्तरियाले नगरपालिकाको नाम अघि बढाउन सहयोग गरेको बताए । उनले नगरपालिका नगरका सबै वडाहरुमा खेलमैत्री वातावरण बन्नुपर्छ भन्ने उद्देश्यका साथ अघि बढीरहेको बताए । उनले खेलकुदलाई नगरले प्राथमिकताका साथ राखेको पनि बताए । ‘खेलकुद भनेको युवालक्षित कार्यक्रम हो, यसले खेलाडी तथा युवाहरुको व्यक्तित्व विकास पनि हुन्छ’ उनले भने ‘यसमा स्थानिय सरकारको योगदान रहनुपर्छ, त्यसैले पनि हामीले यसलाई विशेष प्राथमिकताका साथ राखेका छौ ।’


उनले पछिल्लो समय गोदावरीमा क्रिकेटको राम्रो क्रेज रहेको बताए । उनले गोदावरीमा खेलकुदका लागि नगरस्तरिय मात्रै नभई प्रदेशस्तरिय नै खेलमैदान बन्ने स्थानको सर्वेक्षण गरिएको बताए । उनले तत्काल नभएपनि आगामी केही वर्ष भित्रै राम्रो खेलमैदान गोदावरीमा निर्माण हुने समेत बताए । ‘गोदावरीको फोहोरमैला व्यवस्थापन केन्द्रको पछाडीपट्टी खेलकुद मैदानका लागि पर्याप्त जमिन छ । त्यसलाई अमिन पठाएर नाप्न लगाएका थियौ । त्यो जमिन ४६ विगाहा छ, जसमा एउटा रुख पनि काट्नुपर्दैन’ उनले भने ‘माननिय मुख्यमन्त्रीज्यू, मन्त्री तथा सांसदज्यूहरुलाई हामीले पटक पटक त्यो क्षेत्रमा बोलाएर प्रदेशको राजधानी शहर निर्माण गरौँ भनेर अनुरोध ग-यौ, तर आजसम्म कुनै पहल भएन । त्यसैले सो क्षेत्रमा अब प्रदेशकै सबैभन्दा ठुलो खेलमैदान निर्माण गर्ने योजना हाम्रो छ ।’ सो क्षेत्रमा सबै किसिमका खेलहरु खेल्नका लागि पर्याप्त जमिन भएकाले सुदूरपश्चिमको अन्र्तराष्ट्रिय रंगशालाको रुपमा अगाडी बढाउने योजना आफूहरुको रहेको नगरप्रमुख भट्टले बताए । नगरपालिकाले सो क्षेत्रमा लगत्तै ३/४ वटा क्रिकेट पिँचहरु निर्माण गर्ने उनले बताए । उनले करिब डेढ/दुई महिना भित्रै पिँचहरु निर्माण गरेर क्रिकेटको अभ्यास गर्न सकिने खालको मैदान सो क्षेत्रमा निर्माण गरिने बताए ।

उनले ४६ विगाहाको जमिनमा प्रदेशकै ठुलो खेलकुद मैदान निर्माण गर्ने कार्य नगरपालिकाकै बजेटले सम्भव नहुने भएकाले अन्य निकायहरुसँग पनि सहयोगका लागि तयारी थालिरहेको बताए । तत्काल सम्भव नभएपनि अबको ५/६ वर्षभित्र सो क्षेत्रमा प्रदेशकै अन्र्तराष्ट्रिय रंगशाला बनाउन सकिने र तत्कालिन समयको सो विषय अनिवार्य आवश्यकताको विषय पनि बन्ने उनको भनाई थियो । सो विषयमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दसँग पनि आफूले कुरा राखेको उनले बताए ।
नगरपालिकाले अघिल्लो कार्यकालमा वडा नं. २ मा रहेको दुर्गालक्ष्मी सामुदायिक बनको क्षेत्रमा रंगशाला बनाउने भन्दै घेरबार गरेको थियो । सो क्षेत्रमा रुखहरु भएकाले र सानो क्षेत्र भएकाले त्यसलाई रंगशालाको रुपमा विस्तार गर्न समस्या हुने नगरप्रमुख भट्टले बताए । यद्दपी सो क्षेत्रलाई नगरका साना खेलहरुका लागि प्रयोगमा ल्याईरहेको उनले बताए । उनले सो क्षेत्रमा ग्राउन्डको लेबल मिलाउने र अधुरो प्रशासनिक भवन बनाउने कार्य भने सम्पन्न भएको बताए ।
सिवाइसी अत्तरियाका अध्यक्ष नरबहादुर राईले अत्तरियामा क्रिकेटको विकासका लागि सिवाइसीले सक्दो प्रयास गरिरहेको बताए । उनले अर्जुन ट्रफी सहित सिवाइसीले राष्ट्रिय स्तरका विभिन्न खेलहरुका विजयी ट्रफीहरु गोदावरी नगरपालिकामा ल्याईसकेको बताउदै यस्ता खेलहरुमा सहभागी हुने अवसरहरु अझै पनि सिवाइसीले उपलब्ध गराउने बताए । उनले सिवाइसीलाई विजयी गराउन योगदान पु¥याउने सम्पुर्ण व्यक्तित्वहरुप्रति आधार प्रकट गरे ।