डडेल्धुरा– डडेल्धुरामा एक आर्थिक वर्षमा २७ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराका अनुसार जिल्लामा यो आर्थिक वर्षमा २७ सय मेट्रिक टन सुन्तला उत्पादन भएको हो । केन्द्रका निमित्त कार्यालय प्रमुख नरेन्द्र पनेरुले चालु आर्थिक वर्षमा जिल्लामा ३१० हेक्टर क्षेत्रफलमा उक्त मात्रामा सुन्तला उत्पादन भएको बताए । उनले जसको लागत १६ करोड ५० लाखको हाराहारीमा रहेको बताए ।
केन्द्रका अनुसार यहाँका उच्च भेगका गाउँहरू विशेषगरी अमरगढी, आलिताल, भागेश्वर, गन्यापधुरा लगायतका क्षेत्रमा सुन्तलाको खेती राम्रो फस्टाएको छ । जिल्लामा गत आर्थिक वर्षमा १६ करोड २० लाखको सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा केही बढी सुन्तला उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।


बगैंचा व्यवस्थापन गर्न तालिम
कृषि ज्ञान केन्द्रले सुन्तलाको बगैंचा व्यवस्थापन गर्न तालिम समेत दिइरहेको छ । केन्द्रले भागेश्वर र गन्यापधुराका कृषकलाई सुन्तला खेतीको बगैँचा व्यवस्थापन गर्नका लागि तालिम दिएको जनाएको छ ।
प्राविधिकसहितको टोलीले कृषकलाई सुन्तलाजातको बगैंचा व्यवस्थापन गर्ने तरिका सिकाएको कृषि ज्ञान केन्द्र डडेल्धुराका बागबानी अधिकृत रामसिंह बोहराले जानकारी दिए । प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, चोर हाँगा, बाक्लो हाँगा, रोगी हाँगा र भित्रपट्टि फर्केको हाँगा हटाउने, काटेको ठाउँमा विषादी लगाउने, मल राख्ने र सिँचाइ गर्ने विधि कृषकलाई सिकाएको बोहराले बताए । ज्ञान केन्द्रले फुट स्प्रे, हैंचा, हात कटर, क्रप कपर पेस्ट लगाएतका सामग्री कृषकलाई हस्तान्तरण गरिरहेको छ ।

















