कञ्चनपुर – नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगर सभापति अच्युतराज कलौनीको मृत्यु प्रकरण पछि गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुगेका छन । कांग्रेसका नगर सभापति अच्युत शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिकै सडक पेटीमा मृत अवस्थामा फेला परेपछि गृहमन्त्री लेखक कञ्चनपुर पुगेका हुन ।
शनिबार नै महेन्द्रनगरमा गृहमन्त्री रमेश लेखकसँग भएको भेटघाटमा अच्युतका बुवा जनकराजले हत्या गरेको हुन सक्ने आशंका गरेका छन । ‘घटना कतै भएर फालेको हो कि भन्ने शंका छ,’ कलौनीले गृहमन्त्री लेखकसँग भने, ‘नाम तोक्ने त कसको तोक्ने । राती ३ बजे हिँडेर आएको छ, कसैले मार्नको लागि बोलाएको हो कि ?’


गृहमन्त्री लेखकसँगको कुराकानीमा कलौनीले आफ्नो छोराको शव फेला परेको स्थानमा रहेका घर लामो समयसम्म बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुन सक्ने पनि बताए ।
अच्युत शनिबार बिहान फेला परेको स्थानमा शीत भए पनि छोराको शरीरमा शीत परेको नदेखिएको पनि कलौनीले गृहमन्त्री लेखकसँग दुःखेसो गरेका छन् । छोराले प्रयोग गर्ने मोबाइल फोन नभेटिनुले पनि थप आशंका उत्पन्न गरेको उनको भनाइ छ ।
यसैबीच गृहमन्त्री लेखकले कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीसँग घटनाका बारेमा जानकारी लिएका छन् । गृहमन्त्री लेखकसँगै रहेका कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले भने, ‘गृहमन्त्रीज्यूले एसपी–डीएसपीसँग घटनाबारे जानकारी लिनुभयो । घटनालाई सबै कोणबाट अनुसन्धान गर्न भन्नुभयो ।’ अहिले अच्युतको शव पोस्टमार्टमका लागि अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
