अत्तरिया– धनगढीमा जारी रहेको प्रधानमन्त्री कप महिला टी–२० कप राष्ट्रि क्रिकेट प्रतियोगिताको उपाधीका लागि सुदूरपश्चिम प्रदेश र विभागिय टोली एपीएफ भिड्ने भएको छ । शुक्रबार भएका सुपर फोरका खेलहरुमा एपीएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई र सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशलाई पराजित गर्दै उपाधीका लागि दावेदारी पेश गरेका हुन ।
सुपर फोरमा शुक्रबार भएको पहिलो खेलमा आर्मी क्लबलाई एपीएफले ६९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ३० रनले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।
सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको बाग्मती ८२ रनमा अलआउट भयो ।

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ऋतु कनौजियाकको नटआउट ३४ रनको मद्दतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो । बलिङमा बाग्मतीका सोनु खड्का र मनिषा उपाध्यायले ३/३ विकेट लिएका थिए । ११३ रनको लक्ष्य पछ्याएको बाग्मती १९.४ ओभरमा ८२ रनमा अलआउट भयो । बाग्मतीकी यशोदा विष्टले सबैभन्दा धेरै ३० रन बनाइन् । सुदूरपश्चिमका कविता कुँवर र करिष्मा थापाले २/२ विकेट लिए ।
प्रतियोगीताको उपाधीका लागि शनिबार फाइनल खेल हुनेछ ।



















