धनगढी – कैलालीको धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।

यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागेको गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘प्रतियोगिताका खेलहरू खेल्नका लागि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण सम्पन्न भइसकेका छन् । मैदानमा दर्शकहरूलाई बस्नका लागि कृत्रिम प्यारा फिट पनि जडान गरिसकिएको छ ।’ अध्यक्ष शाहीले भने ‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म तयारी ९० प्रतिशत सकिएको छ । सामान्य तयारीहरू अबको केही दिनमा सम्पन्न गरेर प्रतियोगिताको प्रतीक्षामा रहने छौँ ।’

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रूपमा टी–२० फरम्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहनेछ । प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स यूथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागिता जनाउनेछन् । प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाइनेछ ।
मुख्यमन्त्रीद्धारा ट्रफी अनावरण
यसैबिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रतियोगिताको ट्रफी अनावरण गरेका छन् । धनगढी क्रिकेट एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले ट्रफी अनावरण गरेका हुन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताले क्रिकेटको समग्र विकासमा टेवा पुग्ने र क्रिकेटमा लागेका तमाम शुभच्छुकहरु लाई हौसला मिल्ने बताए ।
