खाेज्नुहाेस

शीतलहरमा स्वास्थ्यको ख्याल राखौँ

Image

पुस महिनाको उत्तरार्धतिर आउँदा चिसो अत्यधिक बढेको छ । तराई मधेस क्षेत्रमा शीतलहर र चिसोले जनजीवन अस्तव्यस्त पारेको छ । कैलाली, कञ्चनपुर लगायत देशभरका तराई क्षेत्रहरूमा शीतलहरूको प्रभाव देखिएको छ । पछिल्लो केही दिन यता कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा अत्यधिक मात्रामा चिसो बढेको छ ।

विगत केही दिन यता तराईका क्षेत्रहरूमा शीतलहर चलेको छ । तराईका विभिन्न भागमा विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ । यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरूको प्राकृतिक प्रकोप भनिन्छ । प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकीसम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने हुनाले चिसो बढी हुन्छ ।

attariya hospital
navjiwan hospital

शीतलहरको आगमनले हाम्रो दैनिक जीवन र स्वास्थ्यमा गम्भीर प्रभाव पार्छ । यद्यपि यो एक प्राकृतिक घटना हो, तर यसका कारण उत्पन्न हुने समस्या र कठिनाइलाई सही ढङ्गले व्यवस्थापन गर्न सकिन्छ भने यो थप जोखिमपूर्ण र नोक्सानदायक हुँदैन । शीतलहरका कारण कृषिमा नोक्सानी हुनुका साथै, स्वास्थ्यमा समस्याहरू, यातायातमा कठिनाइ र दैनिक गतिविधिहरूमा विघ्न आउँछन् । यसले मानिसमा हाइपोथर्मिया, सर्दी, फ्लु, र हृदयाघातको जोखिम बढी गराउँछ । हावा अत्यधिक चिसो हुँदा श्वासप्रश्वास र रक्तसञ्चारमा गडबडी आउन सक्छ, जसले वृद्ध व्यक्तिहरू र शारीरिक रूपमा कमजोर मानिसहरूलाई थप समस्या दिन सक्छ ।

शीतलहरको सामना गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा सतर्कता र तयारी हो । मौसमको पूर्वानुमानलाई ध्यानमा राख्दै, चिसोको असरलाई कम गर्नको लागि केही तयारीहरू गर्न सकिन्छ । शीतलहरको समयमा कपडामा विशेष ध्यान दिनु आवश्यक छ । चिसोबाट बच्नका लागि व्रिक, स्वेटर, मफलर, टोपी र गलब्सको प्रयोग गर्नु महत्त्वपूर्ण छ ।

त्यसका साथै शारीरिक र मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । पोषक तत्वयुक्त आहार सेवन गर्नु, प्रचुर पानी पिउनु, र अत्यधिक चिसो हावाबाट बच्न सुरक्षित स्थानमा बस्ने आदी कार्य शितलहरमा गर्नुपर्दछ । स्थानीय तहहरूले पनि शीतलहरको असर र यसको सामना गर्ने उपायहरूको बारेमा जनचेतना फैलाउने कार्य गर्न आवश्यक छ । यो एक प्राकृतिक घटना भएकाले यसको प्रभावलाई रोक्न सकिन्न, तर सतर्कता र पूर्वतयारले यसका नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ । स्वास्थ्य, कृषि, र सामान्य जीवनमा शीतलहरको असरलाई न्यूनतम बनाउने उपायहरू अपनाएर हामी यसका घातक परिणामबाट बच्न सक्छौँ ।

चिसो मौसमको कारण निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिक्स, रक्तचाप, छालाको समस्या लगायतका रोग लाग्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ । चिसोबाट बच्न शारीरिक व्यायाम गर्ने, बालबालिका र वृद्धलाई चिसोमा नराख्ने, बाक्लो लुगा लगाइदिने, प्रशस्त मन तातो पानी पिउने, बच्चालाई मोटरसाइकलमा नचढाउने, शरीर पुरै ढाकिने गरी तातो र बाक्लो लुगा लगाउने, तातो खानेकुरा खाने, अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कने आदि कार्य गरे शीतलहर र चिसोको कहरबाट बच्न सकिन्छ ।