कञ्चनपुर– ब्रह्मदेव करिडोरमा बाघ तथा आहारा प्रजातिको गणना सुरु भएको छ । शुक्रबारदेखि ब्रह्मदेव करिडोर तथा आसपासका क्षेत्रमा क्यामेरा ट्रयापिङबाट बाघ तथा आहारा प्रजातिको गणना सुरु भएको हो ।

करिडोर तथा आसपासका क्षेत्रलाई २ गुणा २ किलोमिटरका ७५ ग्रीड बनाइएका छन् । हरेक ग्रीडमा एक/एक जोडी स्वचालित क्यामेरा राखिन्छ । क्यामेरा जडान भएको मितिले कम्तीमा १५ रातिसम्म राखिने र त्यसपछि निकालिने बताइएको छ ।

चुरे क्षेत्रसँग जोडिएको यस करिडोरमा पर्ने बेदकोट नगरपालिकाको छेला सब–डिभिजन वन क्षेत्रमा एक जोडी स्वचालित क्यामेरा जडान गरेर गणना सुरु गरिएको हो ।
ब्रह्मदेव करिडोर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई चुरे क्षेत्रसँग र महाकाली पारी भारतको नान्धौर संरक्षित क्षेत्रसँग जोडने भएकाले महत्वपूर्ण मानिन्छ । यो करिडोर उत्तर–दक्षिण जोडिएकाले जलवायु परिवर्तको असरका कारण उत्तरी क्षेत्रतर्फ बसाइँ सर्ने वन्यजन्तुका लागि समेत यो महत्वपूर्ण भएको बताईन्छ ।
















