अत्तरिया – प्रहरीले कैलाली र अछामबाट ५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर गरेर फरार रहेका २ जना र जिल्ला अदालत अछामले काठ कटान तथा ओसारपसार मुद्दामा जरिवाना ठहर गरेका ३ जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका – १ शान्तिनगर का २९ वर्षीय विपिन मल्ल, चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएकी टीकापुर नगरपालिका – १ का नारायणी देवी खत्री रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै अछामबाट काठ कटान तथा ओसारपसार मुद्दामा जरिवाना ठहर भई फरार रहेका तुर्माखाद गाउँपालिका – ६ की माङ्गली देवी जैसी, सोही ठाउँकी तारा देवी साउँद र हर्क विक पक्राउ परेका छन् । उनीहरूलाई अदालतले प्रति व्यक्ति २२ हजार ४११ दरले जरिवाना तोकेको थियो ।

















