बैतडी- बैतडीमा सञ्चालन हुने उदयदेव प्रिमियर लिगको पुरस्कार राशी घोषणा गरिएको छ । पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा पाटनमा सञ्चालन हुने दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपीएल)को पुरस्कार राशी सोमाबार घोषणा गरिएको हो ।

क्लबका अध्यक्ष सन्तोष जोशीका अनुसार प्रथम हुने टीमलाई १ लाख १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिनेछ भने उपविजेता टोलीलाई ४५ हजार ५५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै म्यान अफ दि सिरिजलाई ८ हजार ८४८ रुपैयाँ, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरलाई समान ५ हजार ५५५ रुपैयाँ र उदयमान खेलाडीलाई २ हजार ५२५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

शनिबार प्रतियोगिताको ट्रफी अनावरण गरिएको थियो । प्रतियोगितामा जिल्लामा दर्ता भएका क्लब, संघसंस्था तथा स्थानीय तहहरुले सहभागी हुन पाउने पाटन भ्याली क्रिकेट क्लबका अध्यक्ष जोशीले जानकारी दिए ।
प्रतियोगिता आइसिसिको नियमानुसार सञ्चालन गरिनेछ । प्रत्येक टिममा जिल्ला बाहिरका तीन जना खेलाडी मात्रै सहभागी गराउन पाउने क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालन हुने मिति केही दिनमा सार्वजनिक गरिने अध्यक्ष जोशीले बताए ।













