कञ्चनपुर – कञ्चनपुर बेदकोट नगरपालिका-९ सुन्दरपुरका ४५ वर्षीय तारणीप्रसाद पन्त ५४ दिनदेखि सम्पर्कविहीन छन्। नेपाल बैंक लिमिटेड, मनाङको चामे शाखामा चौथो तहका कर्मचारी पन्त कात्तिक १० गते साथी अर्जुन खड्कासँग भ्युटावर हेर्न गएका थिए। खड्का बीच बाटोमै फर्किएपछि पन्त एक्लै भ्युटावरतर्फ अघि बढे। साँझ ४:४५ बजे खड्कासँग अन्तिम फोन संवाद भएको भए पनि त्यसपछि उनी सम्पर्कमा आएनन्।

खड्का र बैंकका कर्मचारीले पन्तको खोजी गर्न राति प्रयास गरे, तर फोन राति १०:४५ बजे सम्म घण्टी बजे पनि उठेन। त्यसपछि फोन स्वीचअफ भयो। पन्त सम्पर्कविहीन भएको खबर पन्तका परिवारलाई बैंककै कर्मचारी अर्चना बुढाथोकीले दिएकी थिइन्।

सम्पर्कविहीन भएको सूचना पाएपछि पन्तका चार जना परिवारका सदस्य मनाङको चामे पुगे। त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र बैंकका कर्मचारीहरूको सहयोगमा व्यापक खोजी गरियो। ड्रोन क्यामेरा र हेलिकप्टरको सहायताले समेत खोजी गर्दा पनि कुनै अत्तोपत्तो लाग्न सकेन। पन्तको मोबाइलको अन्तिम लोकेसन चामेमै देखिएको थियो।
परिवारमा तनावको स्थिति छ, तर पनि पन्तको सकुशल फर्कने आशा अझै बाँकी छ। उनका भाइ विष्णुदत्त पन्तका अनुसार परिवारले निराश नभएर खोजी जारी राखेको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीले पनि खोजीमा सहयोग गरिरहेका छन्।


















