आधुनिक कृषि प्रणालीको विसंगतीस्वरुप यसबाट उत्पादनको ह्रास, खाद्य पदार्थको अभाव र उपलब्ध खाद्य पदार्थको गुणस्तरमा ह्रास जस्ता समस्या देखिएको छ । नेपालमा जनसङ्ख्याको चाप बढ्दै गएर खेतीयोग्य भूमिमा घर–घडेरी, उद्योगहरू बढ्दा खेतीयोग्य जमिन घटिरहेको छ । बढ्दो जनसङ्ख्याको निमित्त चाहिने खाद्यान्न, तरकारी, फलफूल आदिको माग पूरा गर्नु जटिल बनेको छ । यस्तै कृषिको व्यवसायीकरण गरी उत्पादन वृद्धि गर्ने नाममा रासायनिक मल, विषादी र हर्मोनको बढ्दो प्रयोगबाट मानिसलगायत वातावरणमा पर्ने नकारात्मक प्रभावलाई जोगाउन उत्तिकै आवश्यक छ ।


उत्पादनलाई सुव्यवस्थित गर्न तथा वातावरणको संरक्षण गर्न स्थानीय स्रोत र साधनको सही प्रयोग गरी दिगो कृषि विकासतर्फ जोड दिनुपर्ने देखिन्छ । त्यसका लागि कृषकहरूले रासायनिक मलको प्रयोगमा कमी ल्याउनुपर्दछ । रासायनिक मलको प्रयोग रोकेर कृषि खेतीमा प्राङ्गारिक मलको प्रयोग गरे त्यसले कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गर्नुका साथै माटोको उर्वराशक्तिलाई बचाउन पनि मद्दत गर्दछ । त्यति मात्रै नभई प्राङ्गारिक मलको प्रयोगले मानिसको स्वास्थ्यलाई पनि लाभ गर्दछ ।
गाईबस्तुको मलमूत्र, घाँसपातका अवशेष र सोतरलाई गोठको नजिकै राखेर तयार पारिएको मललाई गोठे मल भन्ने गरिन्छ । जुन प्राङ्गारिक मल अन्तर्गत नै पर्ने गर्दछ । गोठे मल बनाउन बाहिरी सामग्री किन्न खर्च गर्नुपर्ने अवस्था हुँदैन भने बिरुवालाई आवश्यक पर्ने सबै खाद्यतत्वहरु सो मलमा पाईन्छन ।
यसले माटोलाई पनि लामो समयसम्म उर्वर बनाइराख्न तथा माटोको बनोट र संरचनामा सुधार ल्याउन मद्दत गर्दछ । माटोको उर्वराशक्ति बढे त्यसले उत्पादनमा पनि वृद्धि गर्ने भएकाले कृषि क्षेत्रमा रासायनिक भन्दा प्राङ्गारिक मलहरूको प्रयोग गर्न आवश्यक छ । पछिल्लो समय कृषिमा प्रयोग हुने रासायनिक मलले माटोको उर्वराशक्ति घटाउनुका साथै मानिसको स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने भएकाले रासायनिक मलको साटो प्राङ्गारिक मलको प्रयोगमा ध्यान दिन जरुरी छ ।

















