अत्तरिया – पछिल्लो समय एक पछि अर्को सहकारी घोटालाका घटना बाहिरिन थालेपछि स्थानीय स्तरमा सञ्चालित सहकारी माथि सेयर तथा साधारण सदस्यको विश्वास जित्ने चुनौती थपिएको छ । केही सहकारीका कारण अहिले राम्रो काम गर्दै आएका सहकारी पनि कुनै तुटी नै नगर्दा पनि अफवाह फैलिले चिन्ता सँग जुधिरहेका छन् । जसले गर्दा अहिले देशमा देखिएको आर्थिक मन्दी सँगै यस्ता भ्रम सँग पनि जुध्नुपर्ने चुनौती सहकारीहरूलाई थपिएको छ ।
प्राध्यापक जनक जोशीले अहिले स्थानीय स्तरका सहकारीलाई देशभर सहकारीका नाममा भएका गलत गतिविधि र सहकारीका नकारात्मक समाचारबाट जोगाउने चुनौती रहेको बताए । उनले कोरोना महामारी र त्यसपछि भएको आर्थिक मन्दी र अहिले सहकारीका प्रति जनस्तरमा फैलिएका नकारात्मक कुराले स्थानीय स्तरमा जनताको आय स्तर उकास्नका लागि स्थापना भएका सहकारी प्रभावित भइरहेको बताए ।

नवजीवन सल्लाहकारीका पूर्व अध्यक्ष चक्र बहादुर सिंहले सहकारी प्रति नकारात्मक धारणा फैलिएको बताए । उनले अहिले सहकारी भन्ने बित्तिकै नाक खुम्च्याउने गरिएको बताए । ‘सहकारी सहकारीका रूपमा नभएर केही सहकारी व्यक्तिगत र पारिवारिक स्वार्थमा लिप्त हुँदा सहकारी डुबाए’ उनले भने ‘यी सबै कुराबाट नवजीवन सहकारी अछुतो रहेर जनताको विश्वास जित्ने गरी काम गरिरहेको छ ।’ दुर्गालक्ष्मी नमुना माविका अध्यक्ष गणेश शाहले केही गलत गर्ने सहकारीका कारण राम्रो काम गर्ने सहकारीलाई पनि असर परेको बताए । उनले पुराना स्थापित सहकारी पनि केही गलत प्रवृत्तिका व्यक्तिका कारण राम्रा सहकारी समस्यामा परेको बताए ।

सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाले केही संस्थागत सुशासन र क्षमता नभएका सहकारीका कारण राम्रा सहकारी पनि मारमा परिरहेको बताइन् । ‘एउटा सहकारीका कारणले गर्दा देशभरका सहकारीले मार्का खेप्नु परेको छ’ उनले भनिन् ‘केही सहकारीमा सञ्चालकले बचत खाएर भागेको घटना आएका छन् । त्यसका लागि सहकारीमा आबद्ध सबै सेयर सदस्य चनाखो हुन आवश्यक छ ।’
सहकारीमा आबद्ध सबै सदस्यले आफ्नो बचत रकम सुनिश्चित भए नभएको बारेमा बुझ्न आवश्यक रहेको उनले बताइन् । ‘सहकारीका सदस्यले विश्वस्त हुनप¥यो कि हाम्रो सहकारीमा गरेको बचत सुरक्षित छ वा छैन’ उनले भनिन् ‘सेयर सदस्य सहज भए ।
सहकारीमा गलत गतिविधि हुन पाउँदैनन् । पूर्व सांसद विजय कुँवरले भने राष्ट्रिय स्तरमा सहकारी प्रति केही नकारात्मक धारणा सृजना भए पनि अहिले पनि स्थानीय स्तरमा सहकारी प्रति जनताको लगाव उतिकै रहेको बताए । ‘अहिले स्थानीय स्तरमा रहेका सहकारीका क्रियाकलापमा मानिसहरूको उत्साहजनक सहभागिता रहेको देखिन्छ’ उनले भने ‘केही बाहिरबाट आएका सहकारीले बदमासी गर्दैमा स्थानीय स्तरमा रहेका सहकारी डराउनु पर्ने अवस्था छैन ।’

















