अत्तरिया – सुदूरपश्चिममा रिक्त रहेका ५ पदका लागि भएको उपनिर्वाचनमा कांग्रेसले उपाध्यक्ष र एमाले माओवादीले एक एक वडाध्यक्ष पद गुमाएका छन । कांग्रेसले २०७९ सालको स्थानीय तह निर्वाचनमा जितेको स्वामी कार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद गुमाएको हो भने एमाललेले यसअघि जितेको सुर्मा गाउँपालिका–४ को अध्यक्ष र माओवादीले दुहुँ गाउँपालिका–५ को अध्यक्ष पद गुमाएको हो ।
तिनै पार्टीले एक एक पद गुमाउँदा सख्यात्मक रुपमा बढी लाभ भने कांग्रेसलाई भएको छ । कांग्रेसले एक पद उपाध्यक्षको गुमाउदा दुई पद वडाध्यक्षका पाएको छ । एमाललेले एक पद वडाध्यक्ष गुमाउँदा एक पद उपाध्यक्षका रुपमा पाएर भरपाइ गरेको छ । माओवादीले भने यसअघिको एक पद गुमाएर उपनिर्वाचनमा घाटा मात्रै व्यहोरेको छ ।

आइतबार सम्पन्न मतको अन्तिम परिणाम अनुसार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । बुढाले एक हजार ७४० मत प्राप्त गरेर विजयी भएकी हुन । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार ४७४ मत पाइकि छिन । तेस्रो भएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले पाँच सय ५३ मत प्राप्त गरेकी छन् । कुल सात हजार ४६० मतदाता रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भएको उपनिर्वाचनमा तीन हजार ९०३ मत खसेको थियो ।
२०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको थियो । जोशीले एक हजार ८१० मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले एक हजार ६३७ मत पाएकी थिइन् । तेस्रोमा रहेको माओवादीका उम्मेदवार सुरेशबहादुर रोकायले एक हजार २१३ मत पाएका थिए । उपनिर्वाचनमा भने माओवादीले उम्मेदवारी फिर्ता लिएर एमाललेलाई सघाउन पालिका स्तरिय निर्णय गरेको थियो ।
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन् । पुजाराले ६५७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरे । यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत प्राप्त गरे । एक हजार ५५४ मतदाता रहेको सुर्मा ४ मा आइतबार भएको उपनिर्वाचनमा एक हजार १७८ मत खसेको थियो ।
यहाँ यसअघि एमालेका सर्जनबहादुर बोहराले जितेका थिए । बोहराले ६२९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए । त्यतिबेला माओवादीले कांग्रेसको उम्मेदवारलाई समर्थन गरेको थियो ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३ सय १ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका जनकी खड्का कुँवरले ३१ मत प्राप्त गरेका छन् । यहाँ जम्मा ८ सय ३९ मत खसेको थियो ।
यो वडामा २०७९ मा पनि कांग्रेसले जितेको थियो । कांग्रेसका उम्मेदवार पुष्पराज जोशी ५१३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार देवबहादुर भण्डारीले ३८७ मत पाएका थिए । माओवादीका उम्मेदवार टंकबहादुर नेपालीले जम्मा ४१ मत पाएका थिए ।
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन् । उनले ३७६ मत पाउँदा निकट्तम प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३६३ मत पाएका छन् । उनी १० मतले पराजित भएका छन् । माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत पाएका छन् ।
दुहुँमा यसअघि माओवादीका उम्मेदवार मनोरथ भट्ट ५८२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानसिंह बडालले ३०२ मत पाएका थिए । त्यतिबेला कांग्रेसले माओवादीको उम्मेदवारलाई समर्थन गरेको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । चन्द एक हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले चार सय ८७ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील कुमार भट्टले तीन सय ६९, नेकपा एकीकृत समाजवादी पार्टीका जितेन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८,स्वतन्त्र उम्मेदवार थानेश्व लेखकले एक सय ४२ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका हरिश डगौराले एक सय २७, माओवादी केन्द्रका नानाराम कोलीले एक सय २२ मत पाएका छन् ।
२०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो । सो निर्वाचनमा कांग्रेसका उम्मेदवार महेन्द्र खड्का एक हजार १०२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज अवस्थीले ६९८ मत पाएका थिए ।



















