धनगढी- अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)ले आफैमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई किसनबहादुर चन्दले आफैमाथि गोली प्रहार गरेका हुन् ।
अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैले बोकेको पेस्तोल बाँया छातिको माथिल्लो भागमा प्रहार गरेको पुष्टि गरे । उनका अनुसार चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैमाथि गोली प्रहार गरेको पाइएको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनाबारे छानविन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । चन्दले आफैमाथि गोली प्रहार गर्नुको कारण भने नखुलेको डीएसपी भण्डारीले बताए ।