काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवा प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको तयारीका लागि आज चीन जाँदैछिन् ।

उनले भोलि चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु सहरमा भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरुबीच बृहत् रुपमा समान चासोको विषय तथा प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणको तयारीबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आज छेन्दु पुगेर शनिबार काठमाडौँ फर्कनेछिन् । त्यसपछि प्रधानमन्त्री ओलीसँग यही मङ्सिर १७ गतेदेखि २१ गतेसम्म फेरि चीन भ्रमण गर्नेछिन् ।