कैलालीको गोदावरीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा लिइन्छ । यो धाममा विभिन्न मेलापर्वहरुमा दर्शनार्थीहरुको घुँईचो लाग्ने गर्दछ । गोदावरी धाममा शिव मन्दिर, गोदावरी भगवतीको मन्दिर, ४३ फिट अग्लो हनुमानको मूर्ति लगायत तथा अन्य देवी, देवताका मूर्ति र मन्दिरहरू पनि रहेका भने यस क्षेत्रकै महत्त्वपूर्ण मानिने आर्यघाट समेत रहेको छ । उक्त आर्यघाटमा सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट दाहसंस्कारका लागि मानिसहरू आउने गर्दछन् । आर्यघाटमा अन्तिम दाहसंस्कारका क्रममा हुने फोहोरको उचित व्यवस्थापन नहुँदा दुर्गन्धित बन्ने गरेको छ ।
कहिलेकाहीँ संघसंस्था तथा केही व्यक्तिले स्वस्फुर्त रूपमा सरसफाइ गरे पनि उक्त कार्य निरन्तर हुन नसक्दा आर्यघाट दुर्गन्धित हुने गरेको हो । आर्यघाटको प्रवेश स्थानमै जताततै मृत्युवरण गरेका व्यक्तिका कपडा लगायतका सामाग्री फाल्ने गरिएको छ भने दाहसंस्कार गर्न गएका व्यक्तिहरूले पनि जताततै फोहोर फाल्ने गरेका छन् । अधिकांशले मृत्युवरण गरेका व्यक्तिले प्रयोग गरेका पुराना कपडा लगायतका सामान आर्यघाटमै फाल्ने गरेका छन् ।
तर, ती सामान जताततै फालिने गरिएकाले आर्यघाट दुर्गन्धित र कुरूप बनेको छ । त्यस्ता सामग्री फाल्ने निश्चित ठाउँ तोकिएको भए पनि अधिकांशले त्यसको वास्ता गर्दैनन् । नगरपालिकाले उक्त आर्यघाटसहित गोदावरी धामलाई हरिद्वारका रूपमा विकास गर्ने योजना बनाएको छ । सो अनुसार आर्यघाटमा पानीको व्यवस्था तथा जाने बाटोको व्यवस्था र फोहोर फाल्ने डस्टबिनहरु नगरपालिकाले राखेको छ । तर ती डस्टबिनहरुमा फोहोर नफालिँदा सो क्षेत्र दुर्गन्धित बनेको छ । नियमित सरसफाइ हुँदैन ।
गोदावरी सुदूरपश्चिम प्रदेशकै मात्रै नभएर देशकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढी रहेको छ । त्यसैले यसको विकासका लागि सबैले हातेमालो गर्न आवश्यक छ । आर्यघाटको सरसफाइ गर्ने जिम्मेवारी सबैको हो । नगरपालिकाले राखेका डस्टबिनहरुमा पनि मृत्युवरण गरेका व्यक्तिका कपडाहरू फाल्ने गरिएको भए त्यति दुर्गन्धित हुँदैनथ्यो होला ।
तसर्थ त्यो विषयमा स्थानीयहरूले ध्यान दिनुपर्दछ । नगरपालिकाले पनि सो क्षेत्रमा नियमित सरसफाइको व्यवस्था गर्नुपर्दछ । आर्यघाटलाई व्यवस्थित बनाउन सबैको सहकार्य आवश्यक हुन्छ । त्यसको पहलकदमी नगरपालिकाले गर्नुपर्दछ ।