अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा नेतृत्वमा दलितको प्रतिनिधित्व न्यून रहेको पाइएको छ । नगरपालिकामा रहेको ३२७ वटा सङ्घसंस्था र सरकारी कार्यालयहरूमा गरिएको अध्ययनमा नेतृत्वमा दलितको संख्या न्यून रहेको पाइएको हो । द फ्रिडम फण्डको आर्थिक सहयोगमा दलित विकास सेवा केन्द्रले तयार पारेको प्रतिवेदन अनुसार नगरमा नेतृत्व गरेका ३२७ पद मध्ये दलित समुदायबाट ४८ जना मात्रै नेतृत्वमा पुगेका छन् । त्यस्तै जनजाति समुदायबाट ३९ जना नेतृत्वमा पुगेका छन् ।
दलित विकास सेवा केन्द्रको प्रतिवेदन अनुसार नगरपालिकामा महिला प्रतिनिधित्वको अवस्था झन् नाजुक रहेको छ । गैर दलित समुदायबाट २४० जना नेतृत्वमा भए पनि त्यसमा ४२ जना मात्रै महिला रहेका छन् । त्यस्तै दलित समुदायबाट नेतृत्वमा पुगेका ४८ जनामा ६ जना र जनजाति समुदायबाट ३९ जनामा पनि ६ जना महिला मात्रै नेतृत्वमा पुगेका छन् । समग्रमा ६० प्रतिशत गैर दलित पुरुष, १३ प्रतिशत गैर दलित महिला, १३ प्रतिशत दलित पुरुष, २ प्रतिशत दलित महिला, १० प्रतिशत जनताजी पुरुष र २ प्रतिशत जनजाति महिला नेतृत्वमा पुगेका छन् ।
दलित विकास सेवा केन्द्रले नगरपालिका भित्रका सरकारी तथा गैर सरकारी निकायमा रहेका कर्मचारी र व्यवस्थापन समितिको जातिगत विवरण गैर दलितको प्रतिनिधि ६५ प्रतिशत रहेको छ भने बाँकी दलित र जनजातिको प्रतिनिधित्व रहेको छ ।
नगरपालिकामा कर्मचारी र व्यवस्थापन समितिमा कुल ३ हजार ३३२ जना रहेकोमा त्यसमा दलितको संख्या ७२९, जनजातिको संख्या ४३८ र गैर दलितको संख्या २ हजार १६५ रहेको छ । कर्मचारी र व्यवस्थापन समितिमा महिलाको सहभागिता भने सन्तोषजनक रहेको छ । कुल ३ हजार ३३२ जना कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीमा महिलाको संख्या १ हजार ५४५ रहेको छ ।
दलित विकास सेवा केन्द्रका अध्यक्ष टेक विकले दलित बाहुल्यता भएका वडाहरूमा पनि दलितको प्रतिनिधित्व न्यून रहेको पाइएको बताए । उनले समग्रमा नगरका विभिन्न संघ संस्थाको नेतृत्वमा दलित, जनजाति महिलाको प्रतिनिधित्व सन्तोषजनक नभएको बताए । उनले समितिका पदाधिकारी र कर्मचारीमा दलित, जनजाति महिलाको प्रतिनिधित्व गरिएको भए पनि नेतृत्वमा अझै पछाडि परेको बताए ।
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले समान पहुँचको लागि संवैधानिक अधिकार नै भएकाले त्यसको सुनिश्चितता गर्न आवश्यक रहेको बताए । ‘संविधानले नै सबैको पहुँच सुनिश्चितताका लागि अधिकार दिएको छ’ उनले भने ‘संविधान अनुसार सबैको पहुँच सुनिश्चित गर्न स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ । हामीले पछाडि परेको समुदायलाई नेतृत्व दिने सँगै सशक्तीकरण गर्न आवश्यक छ ।’ उनले अहिले एउटै व्यक्ति धेरै पटक अवसर पाउने भएकाले पनि सशक्तीकरणका कार्यक्रम बृहत् रूपमा सञ्चालन गर्न चुनौती थपेको बताए ।
नगरपालिकाकी उपमेयर शारदा रोकायाले दलित विकास सेवा केन्द्रले तयार पारेको तथ्याङ्कले गोदावरीको वास्तविकता छर्लङ्ग भएको बताइन् । उनले महिलालाई अगाडि बढाउनको लागि परिवारको पनि उत्तिकै भूमिका हुने बताइन् । ‘अहिले चाहँदा चाहँदै पनि धेरै महिला सक्षम हुँदा पनि घर बाहिर निस्किन सकिरहेका छैनन्’ उनले भने ‘महिला घर भित्र सीमित रहँदा पनि नेतृत्वमा पहुँच पुग्न सकेको छैन ।’ उनले लक्षित कार्यक्रम सञ्चालन गर्दा पुरै योजना बनाएर मात्रै बजेट विनियोजन गरिनुपर्ने बताइन् ।
सम्बन्धित समाचार : अत्तरियामा पछाडि पारिएका समुदायको स्थानीय स्रोत र सेवामा पहुच सम्बन्धी अन्तरक्रिया