धनगढी – कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा सत्तागठबन्धनकै दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर १६ गते हुने जिसस प्रमुखको निर्वाचनका लागि सत्तागठबन्धन दल नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीबीच भिडन्त हुने भएको हो । आइतबार नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टिकाकुमारी चौधरी (भुल) र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमति डंगोरा थारुले उम्मेदवारी दर्ता गराएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिका–४ की वडा सदस्य रुपमती डगौरा थारुलाई कैलाली जिल्ला समन्वय समिति प्रमुखको उम्मेदवार बनाएको छ । नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य कैलाश चौधरीसहित टीकापुर र भजनी नगरपालिकाका नगरप्रमुखको उपस्थितिमा थारूले उम्मेदवारी दर्ता गराएकी हुन् ।
कैलालीका समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ मा निधन भएपछि समन्वय प्रमुखको पद रिक्त छ । १३ पालिका रहेको कैलालीमा २६ मतदाता छन् तर टीकापुरका उपमेयर खडकबहादुर शाह निलम्बित छन् ।
उपाध्यक्षका लागि पाँच दलको उम्मेदवारी
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि ५ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुना देवी थापा भोटे धामी, नेपाली कांग्रेसबाट पुल्तिसरा शाही, नेकपा एकीकृत्त समाजवादीबाट जवा शाही र नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विकले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैबिच उपनिर्वाचन अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि १२ जनाको उम्मेदवारी परेको छ । सहायक निर्वाचन अधिकृत तारा जोशीका अनुसार राजनीतिक दलबाट १० जनाको र स्वतन्त्र २ जनाको उम्मेदवारी परेको हो ।
यस्तै दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदको लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार एक स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।