महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले पपुलिष्ट र अवसरवादी शक्तिहरुसँग संवाद सहितको प्रतिवाद गर्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
नेकपा एमाले शुक्लाफाँटाको दोस्रो नगर अधिवेशनको बिहीबार उद्घाटन गर्दै नेता रावलले भने, ‘पपुलिष्टहरुको कुनै सिद्धान्त र विचार हुँदैन, उनीहरु समस्या मात्र देखाउँछन, समाधान दिदैनन्, यस्तो अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन रगत पसिना बगाएकाहरुले मौनता साध्नु हुदैन । डटेर प्रतिवाद गर्नुपर्छ ।’
पोलिटब्युरो सदस्य रावलले पपुलिष्ट र अराजकता फैलाउने शक्तिहरुले व्यवस्था र नेतृत्वमाथि चौतर्फी रुपमा आक्रमण गरिरहेको बेला एमाले कार्यकर्ताहरु मौन बस्न नहुने बताए । ‘मौनता घातक हुन्छ, यसलाई यथास्थितिवाद पनि भनिन्छ,’ उनले भने, ‘अवसरको पछि मात्रै दौडिने होइन, अप्ठेरो अवस्थामा सामुहिक जवाफ पनि दिनुपर्छ, त्यसका लागि पार्टी पंक्तिलाई आह्वान गर्छु ।’
गाउँगाउँमा खुलेका सहकारीहरुले राष्ट्रिय पूँजीको निर्माण गरिरहेको बेला अमेरिकाबाट आएका एकथरी मानिसहरु सहकारी आन्दोलनलाई बदनाम गराउन निरन्तर लागेको र अर्काथरी राष्ट्रलाई कर तिर्नै पर्दैन भनेर सडकमा बर्बराइरहेको उनले बताए । ‘अब प्रतिवाद गर्नुको विकल्प छैन, लोकतान्त्रिक शक्तिहरुले एकजुट भएर जवाफ दिनुर्पछ,’ उनले भने ।
एमाले निश्चित विचार र सिद्धान्त बोकेको पार्टी भएकाले सामूहिकतामा विश्वास गर्ने र गुटगत प्रतिस्पर्धा अस्वीकार्य भएको बताउदै उनले पार्टीबाट जितेका जनप्रतिनिधिहरुले नेतृत्वसँग सरसल्लाह गरी राम्रो काम गर्नुपर्ने बताए । ‘पुच्छरले कुकुर हल्लाउने होइन, कुकुरले पुच्छर हल्लाउने हो,’ नेता रावलले भने ।
पार्टीमा गणेश भन्दा पनि कुमार प्रबृत्ति आवश्यक रहेको उनको भनाई छ । ‘नेतृत्वको निर्णयलाई मान्ने हो, प्रभु खोज्दै परिक्रमा गर्ने होइन, सामूहिकतामा विश्वास गर्ने हो,’ उनले भने, ‘अनि मात्र पार्टी बन्छ र मिसन ०८४ सफल हुन्छ ।’
नगर अध्यक्ष भक्तराज जोशीको अध्यक्षतामा सम्पन्न दोस्रो नगर अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नं २ का ईन्चार्ज नरबहादुर धामी, केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कृपाराम राना, युवा संघका पूर्व केन्द्रीय अध्यक्ष बच्चन बहादुर सिंह, शुक्लाफाँटाका नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य रणबहादुर महरा, जिल्ला अध्यक्ष लक्ष्मी बुढा र सचिव पल्लवराज भट्टलगायतको उपस्थिति रहेको थियो ।