खाेज्नुहाेस

चुच्चे नक्सा अंकित नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

Image

काठमाडौं – नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो ।

navjiwan hospital

नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गर्नुपर्ने भएको थियो ।

attariya hospital

आइतबार एक सूचना प्रकाशित गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नोट छाप्ने टेन्डर प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ । ग्लोबल टेन्डरमा चिनियाँ कम्पनीले ठेक्का प्राप्त गरेपछि कम्पनीसँग आशयपत्र माग गरिएको हो ।

१०० दरको ३० करोड थान नोटको डिजाइन, छपाइ, सप्लाई र डेलिभरी गर्न केन्द्रीय बैंकले कम्पनीसँग आशयपत्र माग गरेको छ । ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलरमा उक्त नोट छापिने भएको छ । हालको विनियम दर अनुसार १३४ रुपैयाँ ८४ पैसा अनुसार १ अर्ब २१ करोड ३१ लाख ४६५ रुपैयाँ पर्न आउँछ । यस अनुसार १०० रुपैयाँ दरको १ एउटा नोट छाप्ने ४ रुपैयाँ ०४ पैसा लागत पर्न आउने देखिन्छ ।