धनगढी – सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेरको अन्तिम तयारी गरिरहेको छ । असन्तुष्ट पक्षसँग भएको वार्ताअनुसार दुवै पक्षले मन्त्री छनोट गरिरहेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्री पक्षबाट एक मन्त्री र एक राज्यमन्त्री छनोट गरिरहेका छन् भने देवानसिंह विष्ट पक्षले दुई मन्त्री तथा एक राज्यमन्त्री छनोटका लागि छलफल गरिरहेको छ ।


कांग्रेसले मन्त्रीहरू हेरफेरको तयारी गरिरहेका बेला सत्ता साझेदार एमालेभित्र पनि मन्त्री फेर्नुपर्ने बहस सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा अहिले एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमालेका हिरा सार्कीले नेतृत्व गरिरहेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउद छिन् ।
२०८१ साउनमा उनीहरू मन्त्रीमा नियुक्त भएका थिए । झण्डै दुई वर्षको कार्यकाल उनीहरू मन्त्री रहेको भन्दै अन्य सांसदहरूले अब आफूहरूलाई पनि मन्त्री बनाउनुपर्ने बताएका छन् ।
केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमा पनि केही सांसदहरूले मन्त्री हेरफेरको विषय उठाएका थिए । ओलीले यस विषयमा परामर्श गर्ने संकेत दिएका थिए ।


















