बैतडी- बैतडीमा जिल्लास्तरीय खुल्ला पुरुष भेट्रान भलिबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दका अनुसार समितिको वार्षिक कार्यक्रम अनुसार दशरथचन्द नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता यही कार्तिक १० देखि १२ गतेसम्म निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा सञ्चालन हुनेछ । कार्तिक ९ गतेसम्म टीम दर्ता गराइसक्नुपर्नेछ भने दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ राखिएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २५ हजार र द्वितीय टीमलाई नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय हुने टीमलाई नगद १० हजार र सान्त्वना स्थान प्राप्त गर्ने टीमलाई नगद ५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट सर्भर र बेस्ट डिफेन्सरलाई जनही नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष चन्दले बताए ।















