अत्तरिया – राष्ट्रिय सरसफाइ अभियानमा जनसहभागिता जुट्दै गइरहेको छ । नेपाली कांग्रेसका युवा नेता लोक राज पाण्डेय (आगो) ले असोज ९ देखि सुरु गरेको अभियान चौथो सातामा पुग्दा जनसहभागिता जुट्दै गइरहेको हो ।
युवा नेता पाण्डेयले असोज ९ गते जन्म दिनको अवसरमा प्रत्येक बुधवार सार्वजनिक शौचालयमा सरसफाइ गर्ने अभियानको घोषणा गरेका थिए । सो अभियान चौथो सातामा पुग्दै गर्दा जनसहभागिता बढ्दै युवा नेता पाण्डेयले बताएका छन् ।


उनले अभियानलाई राष्ट्रव्यापी बनाउने उद्देश्यका साथ लागेको बताए । ‘अभियानमा देशभरबाट मानिसहरू जोडिने क्रम जारी छ’ उनले भने ‘हामीले यसलाई एउटा समिति नै बनाएर काम गर्ने योजना बनाएका छौ ।’ उनले अभियान उद्देश्य नितान्त सरसफाइ गर्नु रहेको बताए ।
अभियान अन्तरगत बुधवार अत्तरियाको पूर्व रोडमा रहेको सार्वजनिक शौचालयमा सरसफाइ गरिएको थियो । सरसफाइ अभियानमा जोडिएका गोदावरीका विजय विकले सरसफाइ अभियान एकदमै पुण्यको काम भएको बताए । उनले बाटोमा हिँड्दै गर्दा शौचालय सरसफाइ गरेको देखेर आफू पनि अभियानमा जोडिएको बताउँदै यसलाई गाउँ गाउँमा बिस्तार गर्न आवश्यक रहेको बताए ।
गोदावरी नगरपालिका – १ का वडा सदस्य चेत राज पन्तले अभियानलाई निरन्तरता दिएर नगर भरी विस्तार गरिनुपर्ने बताए ।


















