खाेज्नुहाेस

अत्तरियामा स्थानीय उत्पादनको प्रदर्शनी बजार सञ्चालनका विषयमा अन्योल

Image

अत्तरिया – कैलालीको अत्तरियामा आज देखि सुरु हुने भनिएको सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजार अनिश्चित बनेको छ ।
सम्पूर्ण तयारी गरेर बिहान उद्घाटन गर्नु पूर्व केही व्यपारीहरुको समूहले बजारको प्रवेशद्वारमा तोडफोड गरेर विरोध गरेपछि प्रवर्द्धन र प्रदर्शनी बजार अनिश्चित बनेको हो । स्थानीय केही व्यवसायीहरूले दसैँको समयमा राखिएको प्रवर्द्धन र प्रदर्शनी बजारका कारण आफूहरूको व्यवसायमा असर पर्ने भन्दै विरोध गरेका थिए ।

विरोध पछि दुई पक्ष बिच नगरपालिकामा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीले बताए । उनले सुदूरपश्चिममा उत्पादित बस्तुको विक्री वितरण प्रवर्द्धन, प्रदर्शनी बजारका लागि नगरपालिकाबाट अनुमति लिएकाले नगरपालिकाले नै खारेज गर्न सक्ने बताए ।

attariya hospital
navjiwan hospital

‘न नगरपालिकाले खारेज गरेको छ । न सञ्चालन गर्नको लागि वातावरण तयार भएको छ’ उनले भने ‘अहिले हामी अन्योलमा छौ । के गर्ने भन्ने विषयमा आयोजक बिच छलफल गरिरहेका छौ ।’ उनले केही व्यवसायीहरूले कुनै सामान विक्री नै गर्न नपाइने सर्त राखेपछि समस्या भएको बताए ।

‘पहाडका विभिन्न ठाउँबाट स्थानीय उत्पादन लिएर उद्यमीहरू आउनुभएको छ’ उनले भने ‘ती विक्रीका लागि ल्याएका सामान नबेच्न पाए कसरी खर्च म्यानेज होला ।’

कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा ‘यसपालिको दसैँ तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजारको आयोजना गरिएको थियो । जसमा १२ वटा स्टल राखिएका थिए । आयोजकले उत्पादकलाई निःशुल्क स्टल उपलब्ध गराएको थियो ।

सम्बन्धीत समाचारअत्तरियामा आजदेखि सुरु हुन गइरहेको प्रदर्शनी बजारमा तोडफोड