अत्तरिया – केन्द्रीय राज्यसत्तामा सुदूरपश्चिमको बिँडो सम्हालेका नेताका रूपमा चिनिने अधिकांशको बसाई काठमाण्डौं मै छ । प्रत्यक्ष रूपमा उनीहरूलाई न यहाँ अस्पताल बनाउँदा फरक पर्छ न विद्यालय नै । तर, पनि सुदूरपश्चिमको बिँडो सम्हालेका यस्ता नेताबाट यस क्षेत्रका जनताले आशा गर्न भने छोडेका छैनन् । आवश्यकता भन्दा पनि पहुँचका आधारमा काम हुने सिस्टम बसेकाले पनि केन्द्रमा पुगेका आफ्ना नेताले कुनै बेला केही गरिहाल्छन् की भन्ने आशामा बसेका जनताबाट यी नेताले सपोर्ट पाइरहेकै हुन्छन् । तर, तिनै नेताले बेवास्ता गरिदिँदा देश भित्रै सुदूरपश्चिम झन् झन् पछि परिरहेको छ ।
यसको पछिल्लो उदाहरण हो गेटामा सरकारले घोषणा गरेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय । अहिले देशभरका ६ प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालन हुँदै गर्दा सुदूरपश्चिम अनिश्चितताको भुमरीमै छ । सरकारी तवरबाट यसअघि वाग्मती, कर्णाली र कोसी प्रदेशमा चिकित्सा शिक्षा अध्यापन हुँदै आएकोमा यसै वर्ष गण्डकी, लुम्बिनी र मधेस प्रदेश पनि चिकित्सा शिक्षा पठनपाठन गर्ने गरी कोटा नै निर्धारण गरिसकिएको छ ।
सरकारले नै बनाएको चिकित्सा शिक्षा ऐनमा २०८० भित्र प्रत्येक प्रदेशमा कम्तीमा एउटा सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने व्यवस्था छ । तर यो ऐनले ६ प्रदेशलाई छोए पनि सुदूरपश्चिम अझै यसमा अटाउन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा अध्यापन गराउने उद्देश्यले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने घोषणा गरिए पनि त्यसको विधेयक प्रक्रियामै ढिलाइ भइरहेको छ । उक्त विधेयक हाल प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको छ ।
गेटामा ६ सय शय्याको अस्पताल र चिकित्सा शिक्षा पठनपाठनका लागि २ वर्षअघि नै भौतिक संरचना निर्माण भएका थिए । तर, केन्द्रको उपेक्षाका कारण अझै पनि यहाँ कुनै पनि काम योजना अनुसार अघि बढ्न सकेका छैनन् । ६ सय शय्याको अस्पताल बनाउने भनिए पनि केन्द्र सरकारले अहिले ५० शय्याको अस्पताल मात्रै चलाई रहेको छ । २०८० असारमा स्वीकृत पाएको गेटा अस्पतालमा अहिले न्यूनतम सुविधामा मात्रै सञ्चालन भइरहेका छन् । तत्कालीन अस्पताल प्रशासनले मेडिकल कलेज सञ्चालनको लागि आवश्यक पर्ने ३ सय शय्याको अस्पताल सञ्चालनको अनुमति मागे पनि सरकारले भने ५० शय्याको अस्पताल मात्रै सञ्चालनको स्वीकृति दिएको थियो ।
चिकित्सा शिक्षा अध्यापनका लागि कम्तीमा ३ सय शय्याको अस्पताल सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था छ । तर, यी सबै कुराका बाबजुद पनि केन्द्र सरकारले यहाँ न सो अनुसारको अस्पताल सञ्चालनमा चासो दिएको छ न, विश्वविद्यालय सञ्चालनको लागि विधेयक सांसदबाट पास गर्ने तदारुकता देखाएको छ । तर, पनि यस क्षेत्रबाट केन्द्रिय राजनीतिमा नेतृत्व गर्ने नेताहरु भने मौन बसेका छन । जसले गर्दा यस क्षेत्रका जनता, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेता माथि आशंका गर्दै आक्रोशित बनेका छन् ।
गेटामा विश्वविद्यालय स्थापनाका लागि भइरहेको संघर्षका कार्यक्रमको नेतृत्व गरिरहेका लोक राज पाण्डेले गेटामा विश्वविद्यालय बनाउन भइरहेको ढिलाइका विषयमा सुदूरपश्चिमका जनताले यस क्षेत्रबाट राजनीति गर्ने नेताहरूलाई प्रश्न सोध्ने बेला भएको बताए । उनले अस्पताल ५० बेडमा सीमित राखेर हाल विधेयक संसदीय समितिमा किन थन्क्याइएको भनेर पार्टीका कार्यकर्ताहरूले नै आफ्ना नेताहरूलाई प्रश्न गर्न आवश्यक रहेको बताए । गेटा विश्व विद्यालय हुनु हुँदैन भनेर राजधानीमा केन्द्रित नेता र मेडिकल माफियाका कारण ढिलाइ भएको बताउँदै उनले सरकारले चाहेमा यसै वर्ष पनि चिकित्सा शिक्षा पठनपाठन सुरु गर्न सकिने बताए । उनले तत्काल गेटा मेडिकल विश्वविद्यालयको विधेयक पारित गरेर सेती, टीकापुर, महाकाली अस्पताल सँगको समन्वयनमा यहाँ चिकित्सा शिक्षा पठनपाठन गर्न सकिने बताए ।
स्थानीय दीपक बोहराले सुदूरपश्चिमको नाममा राजनीति गरेका नेताहरू नै यस क्षेत्रको विकासकै बाधक बनेको बताए । उनले यस्ता नेताको जयजयकार गरेर यस क्षेत्रको विकास नहुने बताए ।
सुदुर-पश्चिम् लाई नेताहरुले गर्ने व्यबहार यस्तै हो भने अब सुदुर-पस्चिमेली जनताले सामुहिक रुपमा नेताहरुलाइ बहिस्कार गर्नुपर्छ ।