कञ्चनपुरको देखतभुली स्वास्थ्य चौकी : एउटै बेड, सुत्केरी हुन पनि पालो कुर्नुपर्छ

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल सोमबार लालझाडी गाउँपालिकाको बाढीग्रस्त क्षेत्रको अनुगमनका क्रममा वडा नम्बर ५ स्थित देखतभुली स्वास्थ्य चौकी पुगे । त्यहाँस्थित बर्थिङ सेन्टरमा कार्यरत अनमि बिनिता बोहराले समस्याहरु सुनाइन्, ‘सुत्केरी र कुरुवा बस्ने एउटै कोठा हुँदा निक्कै समस्या हुने गरेको छ, अर्को तर्फ डेलिभरी बेड पनि एउटै छ, सँगै जसो अर्को सुत्केरी आउँदा कहाँ राखेर डेलिभरी गराउने ?’

maya metro hospital

बर्थिङ सेन्टरमा कोठा अभावले गर्दा सुत्केरीहरुले निक्कै सकस खेप्नुपर्छ । अर्कोतर्फ डेलिभरी बेडलगायत आवश्यक उपकरण र स्वास्थ्य सामाग्रीको पनि उस्तै समस्या छ । लालझाडी गाउँपालिका, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाका ५ वडाका १२ हजार भन्दा बढी स्थानीयलाई सेवा प्रदान गर्दै आइरहेको यो स्वास्थ्य चौकीमा औषधि र उपकरणको अभाव रहेको सिनियर अहेब लिलाकान्त झाँले बताए ।

उनले ३ हजार ४ सय ८ जनसंख्यालाई सेवा दिने उद्देश्यले स्थापना गरिएको चौकीले अहिले तीन पालिकाको ५ वडाका १२ हजार भन्दा बढीलाई वार्षिक सेवा प्रदान गरिरहेको र सबैभन्दा चर्को समस्या बर्थिङ सेन्टरमा भएको सुनाए । पूर्वमुख्यमन्त्री रावलले स्वास्थ्य चौकीबाटै धनगढीस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. निरज अर्याललाई टेलिफोन सम्पर्क गरी समस्या अवगत गराएपछि आपूर्ति व्यवस्थापन केन्द्रले मंगलबार अत्यावश्यक स्वास्थ्य सामाग्री र औषधि प्रदान गरेको छ ।

attariya hospital

स्वास्थ्य चौकी प्रमुख झाँका अनुसार तत्कालका लागि आपूर्ति केन्द्रले डेलिभरी बेड, ट्रली र निडल कटर एक–एक थान उपलब्ध गराएको छ । यस्तै अक्सिटोसिन इन्जेक्सन २ सय, मेडावोन एक सय, सर्जिकल ग्लोब एक हजार जोडीका साथै औषधिहरु उपलब्ध गराएको छ ।

स्वास्थ्य चौकीले पुरानो भवन र आवास भवनको मर्मत र रंगरोगन, एम्बुलेन्स, लैङ्गिक मैत्री शौचालय निर्माण र आधुनिक बर्थिङ सेन्टर भवनको माग पूर्व मुख्यमन्त्री रावल समक्ष राखेको छ । वडा नम्बर ५ का स्थानीय तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य खेमराज ओझाले स्थापनाकाल देखि नै यो स्वास्थ्य चौकीले गुणस्तरीय सेवा दिँदै आएपनि स्वास्थ्य सामग्रीको अभाव झेलिरहेको बताए । ‘रेफर गरिएका बिरामीहरुलाई धनगढी र महेन्द्रनगरका अस्पतालमा लैजानका लागि एम्बुलेन्स नहुँदा रात–बिरात अटोमा राखेर लग्नुपर्छ,’ उनले भने ।

पूर्व मुख्यमन्त्री रावलले तत्कालका लागि स्वास्थ्य सामाग्रीको जोहो गरिएको बताउँदै एम्बुलेन्सलगायत भौतिक संरचना निर्माणको हकमा पनि आफूले सक्दो पहल गर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.