बैतडी – बैतडीमा भिडियो एक्सरे मेसिन खरिद गर्नका लागि सहयोग अभियान सञ्चालन गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीले कार्यालयमा भिडियो एक्सरे मेसिन खरिद गर्नका लागि अभियान सञ्चालन गरेको हो ।

दुर्गम क्षेत्रमा रहेको उक्त स्वास्थ्य चौकीबाट नागरिकहरुलाई सहज स्वास्थ्य सेवा पु-याउने लक्ष्यका साथ उक्त अभियानको थालनी गरिएको स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले बताए । भिडियो एक्सरे मेसिन भए स्वास्थ्य चौकीमा गर्भवती महिला, पेट सम्बन्धी समस्या भएका अन्य विरामीहरुले पनि सहज रुपमा सेवा लिन पाउने अपेक्षा लिईएको छ ।

मेसिन खरीदका लागि अन्यत्रबाट सहयोग नभएपछि आमरुपमा सहयोग अभियान सञ्चालन गरिएको हो । २ लाख ५५ हजारको लागतमा भिडियो एक्सरे मेसिन खरीद गर्न सकिने स्वास्थ्य चौकी प्रमुख सार्कीले बताए । उक्त स्वास्थ्य चौकीमा ८ स्वास्थ्यकर्मी र एकजना कार्यालय सहयोगी कार्यरत रहेका छन् । उक्त अभियानमा स्वास्थ्यचौकी प्रमुख सार्कीले ३० हजार सहयोग गर्ने घोषणा गरेका छन् भने अन्य ७ जनाले १० हजारका दरले सहयोग गर्ने भएका छन । कार्यालय सहयोगीले पनि अभियानमा ५ हजार सहयोग गर्ने भएका छन ।
ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तल्लीन रहेका स्वास्थ्यचौकी प्रमुख सार्कीले यसअघि आफ्नै व्यक्तिगत लगानीमा स्वास्थ्यचौकीमा सेन्सरयुक्त सीसीटीभी क्यामेरा जडान गरेका छन् । पञ्चेश्वर स्वास्थ्यचौकीले भिडियो एक्सरे मेसिन खरीदका लागि अभियान शुरु गरिसकेको र उक्त मेसिन सञ्चालन गर्ने जनशक्तिलाई स्वास्थ्य कार्यालयले तालिमको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए ।















