कञ्चनपुर – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको २०७५ साउन १० गते बलात्कार पछि हत्या भएको थियो । निर्मला पन्त घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै चर्चा पाए पनि अहिले सम्म दोषी भने पत्ता लागेका छैनन् । घटनाको अनुसन्धानका लागि ६ वटा समिति बने पनि कुनै समिति निर्मलाका दोषी नजिक पुग्न सकेका छैनन् ।
निर्मला साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केको भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत परेकी थिइन ।


घटनापछि हालसम्म ५ जना गृहमन्त्री पनि फेरिइसकेका छन् । हाल निर्मलाको न्यायको लागि सडक आन्दोलनमा सहभागी भएका कञ्चनपुरकै रमेश लेखक गृहमन्त्री छन् । अब हत्यारा पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने जिम्मेवारी लेखकको काँधमा थपिएको छ ।
निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न हालसम्म प्रहरीले १२४ जनाको डीएनए जाँच गरिएको छ भने ६५५ जनासँग सोधपुछ गरेको छ ।
प्रहरीले मोबाइल लोकेसनका आधारमा हालसम्म बीटीएस ट्रयाकमा देखिएका करिब ५०० मोबाइलको प्राविधिक विश्लेषण समेत गरेको छ । लामो समय सम्म गरिएको अनुसन्धानमा हालसम्म राज्यको ३२ लाख ९० हजार खर्च भइसकेको भए पनि नतिजा शून्य छ ।
यद्दपी अहिले पनि निर्मला पन्तको फाइल क्लोज भने गरिएको छैन । अहिले पनि केही प्रहरी अनुसन्धानका लागि खटाइएका अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


















