बझाङ- कृषि ज्ञान केन्द्र बझाङले जिल्लाका उत्कृष्ट १० जना कृषकलाई सम्मान गरेको छ । ज्ञान केन्द्रको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कृषक सम्मान कार्यक्रम बालिबस्तु विशेष अन्तर्गत कृषि क्षेत्रमा योगदान पुगाएका कृषकलाई मूल्याङ्कनका आधारमा छनोट गरी सम्मानित गरिएको बताइएको छ ।

सम्मानित हुनेमा तरकारी खेती गरेकी जयपृथ्वी नगरपालिका-७ सुबेडाकी जयलक्ष्मी जोशी, छबिसपाथीभेरा गाउँपालिका-३ का हर्कबहादुर सिह, छबिसपाथीभेरा-१ का महेश धामी, जयपृथ्वी-४ का पूर्णप्रसाद उपाध्याय, फलफूल नर्सरीतर्फ जयपृथ्वी-१० का रामसिह राना, फलफूलमा तल्कोट गाउँपालिका-६ का गोपिलाल बिष्ट, सुर्मा-२ का जयबहादुर बोहरा, दुर्गाथली गाउँपालिका-३ का धने रोकाया, रहेका छन् भने फलफूल र तरकारी खेती गर्दै आएका बुङ्गल नगरपालिका-८ का ग्रिस बोहरा, मौरी पालनतर्फ केदारस्यु गाउँपालिका-४ का धनबहादुर अधिकारी रहेका छन् ।

कृषकहरुलाई दोसल्ला ओढाई नगद १०/१० हजार र सम्मान पत्र प्रदान गरिएको छ । सम्मान कार्यक्रममा कृषकहरूले गुजारामुखी नभई व्यवसायमुखी बन्नुपर्नेमा जोड दिइएको थियो ।

















