अत्तरिया – एक गैरसरकारी संस्थाले कैलालीको गोदावरीका ६० जना महिलालाई उद्यमी बनाउने भएको छ । मुक्त कमैया महिला विकास मञ्चले गैर–परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजना अन्तरगत नगरपालिकाका ६० जनालाई उद्यमी बनाउन लागेको हो । तीन वर्ष सम्म सञ्चालन हुने उक्त परियोजना अन्तरगत प्रत्येक वर्ष २०/२० जनाका दरले उद्यमी बनाइने छ ।
जसका लागि नयाँ मोडालिटीमा काम हुने परियोजनाका संयोजक इन्द्र जित चौधरीले बताए । ‘हामीले कुनै जाती विशेष, लिङ्ग विशेषमा गरिरहेका काम भन्दा अब फरक किसिमले कसरी अगाडि बढ्न सकिन्छ भनेर यो परियोजनाको डिजाइन गरेका छौ’ संयोजक चौधरीले भने ‘विगतमा कुनै जातीले लुगा मात्रै सिलाइरहेका, कसैले भाडा मात्रै बनाइरहेका, महिलाहरूले घरेलु काम मात्रै गरिरहेका थिए भने त्यस्ता परम्परागत रूपमा, सांस्कृतिक रूपमा गरिने कार्य थिए । ती कार्यहरूलाई छोडेर अब आधुनिक किसिमले व्यवसाय सञ्चालन गर्नेको लागि परियोजनाले सहयोग गर्छ ।’ उनले यसबाट घरायसी काममा मात्रै सीमित महिलाले बाहिर गएर पनि काम गर्न सक्ने बताए ।

मुक्त कमैया महिला विकास मञ्चकी अध्यक्ष सीमा चौधरीले गैर–परम्परागत परियोजना नयाँ मोडलको परियोजना भएकाले चुनौती रहेको बताइन् । उनले यसको कार्यान्वयनमा चुनौती भए पनि यसलाई सफल पार्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिन् । परियोजना अन्तरगत गैर परम्परागत क्षेत्रहरूमा निजी क्षेत्रको संलग्नता बढाई बजार पहुँच सुधार र बलियो बनाउने, उद्यमीको वित्तीय पहुँच बढाउने, व्यवसाय सुरु गर्न उद्यमशीलता सीप र ज्ञान दिने, महिलाको सक्षमता बढाई सामाजिक मान्यताहरू र लिङ्गगत पूर्वाग्रहहरुलाई चुनौती दिन र पार गर्न सक्षम बनाउने जनाइएको छ ।

आइतबार उक्त परियोजना अन्तरगत नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको सहभागितामा शुभारम्भ कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीमा परियोजनाका संयोजक इन्द्र जित चौधरीले परियोजनाको उद्देश्य र क्रियाकलापका बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । परियोजना अन्तरगत आर्थिक रूपमा विपन्न, मुक्त कमैया, कमलहरी, अपाङ्गता भएका व्यक्तिहरू, दलित तथा अन्य सीमान्तकृत समुदायलाई समेटिने जनाइएको छ ।
एफसिए फिनल्याण्ड महिला विकास बैंकको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजना डिसेम्बर २०२६ सम्म सञ्चालन हुने छ । परियोजनाको शुभारम्भ कार्यशाला गोष्ठीमा बोल्दै उपप्रमुख शारदा रोकायाले सीप सिकेर काम नगर्ने व्यक्तिलाई कार्यक्रममा नसमेट्न आग्रह गरिने । उनले केही समुदाय विशेषमा दिइएका तालिम प्रभावकारी भएकाले त्यस्ता व्यक्तिलाई कार्यक्रममा समेट्नुपर्ने बताइन् ।
गोष्ठीमा सहभागी नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरूले तालिम दिने विभिन्न कार्यक्रम नगरपालिकामा सञ्चालनमा रहेकोले ती कार्यक्रम सँग समन्वय गरेर काम गर्दा सहज हुने बताएका थिए । वडा नम्बर १० का वडाध्यक्ष प्रेम सिंह बडैलाले नगरमा तालिम नपाएका व्यक्ति नै नभेटिने अवस्था आइसकेकाले अब तालिम मात्रै दिनुभन्दा पनि उद्यम बनाउन तर्फ अग्रसर हुनुपर्ने बताए । तालिम मात्रै लिने काम नगर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
परियोजनाले सञ्चालन गर्ने उद्यम विकास कार्यक्रमका लागि भने सहभागी हुन चाहनेबाट नै आवेदन माग गरेर तालिम दिइने जनाइएको छ । जसले गर्दा उनीहरूको माग अनुसार तालिम दिँदा प्रभावकारी हुने अपेक्षा लिइएको छ ।


















