बाजुरा – बाजुराको गौमुल गाउँपालिकाको केन्द्र घटमुनालाई जोड्ने बुढीगङ्गा नदीमा निर्माण हुने भनिएको पक्की पुलको सम्झौता भएको चार वर्ष बितिसक्दा पनि निर्माण सुरु हुन सकेको छैन।
पुल निर्माणका लागि २०७९ वैशाखमा सम्झौता भए पनि अहिलेसम्म आयोजनास्थलमा कुनै काम सुरु नभएको स्थानीयवासीको गुनासो छ। बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाको सीमामा पर्ने घटमुनामा पुल निर्माणका लागि स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीले ठेक्का प्रक्रिया अघि बढाएको थियो।


भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय र एआर चन्द्र ग्रुप जेभीबीच चार करोड एक लाख २२ हजार ४८४ रुपैयाँमा निर्माण सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण कम्पनीले काम सुरु गर्ने प्रतिबद्धतासहित ३५ लाख रुपैयाँ पेस्कीसमेत लिएको थियो।
लामो समय बितिसक्दा पनि सम्बन्धित निकायले निर्माणकार्य सुरु गराउन चासो नदेखाएको गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाले बताए। पुल नहुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या हुनुका साथै वर्षायाममा यातायातसमेत अवरुद्ध हुने गरेको उनले बताए।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पुल निर्माणका लागि सम्झौता भएको लामो समय बितिसक्दा पनि काम सुरु नभएपछि अहिले ठेक्का तोड्ने प्रक्रियामा रहेको जानकारी दिए।


















