बझाङ – वन कार्यालयले चैनपुर सेती जलविद्युत् आयोजना निर्माणको काम रोकेकोे छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको २ सय १० मेगावाट क्षमताको आयोजना निर्माणको काम सरकारी प्रक्रिया पूरा नगरी थालिएको भन्दै डिभिजन वन कार्यालय बझाङले रोकेको हो ।
वन कार्यालयले गत असार २६ मा ताकेतापत्र पठाउँदै आयोजना निर्माणको काम वन ऐन र नियमावली बर्खिलाप हुने गरी काम भइरहेकाले तत्काल रोक्का राख्न भनेको हो । डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले लेखेको पत्रमा अवैध निर्माण कार्य स्थानीय प्रहरीसमेतको सहयोगमा कारबाहीका लागि पेस गर्न भनिएको छ । अहिले तलकोट गाउँपालिका विभिन्न ठाउँमा आयोजनाको मुख्य सुरुङसम्म पुग्ने ६ वटा पहुँच सुरुङ (अडिट टनेल) निर्माणको काम भइरहेको छ ।


राष्ट्रिय वन क्षेत्रको प्रयोग गरी आयोजनाले निर्माण कार्य गरिरहेको र उक्त काम गर्दा वन ऐन ०७६ को दफा ४२ र वन नियमावली ०७९ को नियम ८७ देखि ९७ सम्मका आवश्यक प्रक्रिया पूरा नगरेको वन कार्यालयले बताएको छ । उक्त पत्रमा यसअघि पनि यो प्रक्रिया नहुन्जेल काम रोक्न ताकेता गरिएको तर आयोजनाले पत्रको बेवास्ता गरेको उल्लेख छ ।
आयोजनाले यसअघिका पत्रको जवाफ दिने क्रममा गोलभिङ सामुदायिक वन उपभोक्ता समिति तलकोट र रातापानी सामुदायिक वन उपभोक्ता समितिबाट सामुदायिक वन क्षेत्रमा आयोजनाको बाटो खन्ने अनुमति प्राप्त भएको जवाफ दिएको तर वन ऐनअनुसार राष्ट्रिय वनको भू–स्वामित्व नेपाल सरकारमा रहने भएकाले अधिकार नै नभएको संस्थासँग वन क्षेत्रको प्रयोग माग गर्ने र अनुमति प्राप्त भएको भन्ने गैरकानुनी जवाफ पठाई काम भएको डिभिजन वन कार्यालयले लेखेको पत्रमा उल्लेख छ ।
यता आयोजनाले भने जग्गा प्राप्तिको आधिकारिक प्रक्रिया गत वर्ष नै सुरु गरिसकेको र वन कार्यालयको सहमतिमै निर्माण कार्य गरिरहेका बेला एक्कासि काम रोक्न लगाएको दाबी गरेको छ । वन कार्यालयले आयोजनाको काम रोक्न जिल्ला प्रशासन, नेपाली सेनालगायत निकायलाई पत्राचार गरेका कारण आयोजनाले निजी जग्गामा गरिरहेको निर्माण कार्य पनि रोकिएको आयोजना प्रमुख अनिलभक्त श्रेष्ठले बताए ।
पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्य राखेको अर्धजलाशययुक्त यो जलविद्युत् आयोजनालाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेर काम सुरु गरेको छ । प्राधिकरणले महत्त्वाकांक्षी आयोजनाका रूपमा अघि सारेको आयोजनाको जलाशय साइपाल गाउँपालिकाको काँडागाउँमा रहेको सेती नदी र घाटगंगा नदीको दोभान नजिक निर्माण हुनेछ । जलाशयको पानी १३ किलोमिटर लामो सुरुङमा हालेर तल्कोटको बस्टीमा बन्ने विद्युत् गृहमा खसालिनेछ । करिब ४० अर्ब लागत अनुमान गरिएको आयोजना ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको हो । यसअन्तर्गत आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित क्षेत्रका स्थानीय, मुलुकभरका सर्वसाधारणको लगानी रहने प्राधिकरणले जनाएको छ ।

















