टीकापुर – कैलालीमा यसवर्ष ५ हजार ७२० मेट्रिक टन चैते धान उत्पादन भएको छ । १ हजार १ शय हेक्टर जमिनमा चैते धान खेती गरिएकोमा ५ हजार ७२० मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

जुन गत वर्षकै उत्पादको हाराहारीमा रहेको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले बताए । उनले चैते धान खेतीको क्षेत्रफल नबढेका कारण उत्पादनमा खासै वृद्धि नभएको बताए । प्रतिहेक्टर जमिनमा ५ दशमलव २ मेट्रिक टनका दरले चैते धान फलेको उनले बताए । उनका अनुसार वर्षेभन्दा चैते धानको उत्पादकत्व भने राम्रो रहेको छ ।

जिल्लाको अति डुबान प्रभावित भजनी नगरपालिका र जोशीपुर गाउँपालिका किसानले व्यावसायिक रूपमै चैते धान खेती गर्दैआएका छन् । वर्षे धान भित्र्याउने सुनिश्चितता नहुने गरेका कारण वर्षभरीका लागि खाद्यान्न जोहो गर्न डुबान प्रभावित क्षेत्रका किसानको चैते धान खेती गर्दै आएका छन ।















