खाेज्नुहाेस

४० बिगाहामा केरा खेती गरेका जेठारालाई सिचाइको सकस, राज्यको बेवास्ता

Image

अत्तरिया – उखरमाउलो गर्मीमा केरा बारीको छाहरीमा बसेका अर्जुन जेठारालाई त्यही केरा कुन दिन सुक्ने हो भन्ने चिन्ता छ । केराबारीमा सिचाई गर्न तिन सातादेखि बोरिङमा पानी आउन छाडेपछि उनी अहिले लाखौँ लगानी गरेको केरा सुक्ने चिन्तामा छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मा रहेको केराबारी भित्रै बोरिङ मर्मत गरिरहेको अवस्थामा भेटिएका उनले पानी निकाल्न अनेक जुक्ति लगाइसकेको भए पनि सफल हुन नसकेको बताए ।

‘यो ठाउँमा बोरिङ ठोकेर गाड्न सकिँदैन । ढुङ्गा लाग्ने भएकाले बोरिङ गाड्न कुवा खन्नुपर्छ’ उनले भने ‘३० फुट कुवा खनेर बोरिङ गाढेको थिए । अहिले त्यसमा पनि पानी आइरहेको छैन । पानी नआउँदा सिचाइका लागि साह्रै समस्या भएको छ ।’ उनले चर्को गर्मीमा केरा खेतीमा नियमित सिचाइ गर्नुपर्ने भए पनि जेठ १५ गते यता सिचाई गर्न नपाएको बताए । ‘सिचाई गर्न नपाउँदा अहिले केराको पात टुट्न लागेका छन्’ उनले भने ‘सिचाइको लागि नहर, कुलोमा पानी छैन । यस्तो अवस्थामा सरकारले केरा खेती हुने ठाउँमा सिचाइको वैकल्पिक व्यवस्था गरिदिएको भए सहज हुन्थ्यो ।’

attariya hospital

सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताउने गरेको भए पनि आफूजस्ता व्यवसायीक कृषि खेती गर्ने किसानलाई बेवास्ता गरेको उनको गुनासो छ । उनले नजिकको स्थानीय सरकारले पनि किसानका समस्या प्रति चासो नदेखाएको बताए । ‘मेरो बारी अगाडि वडा कार्यालय छ । तर, वडा अध्यक्ष ज्यू ले अहिले सम्म मेरो केराबारी तिर हेर्नुभएको छैन’ उनले भने ‘मैले जनप्रतिनिधिको गुनासो गर्न खोजेको होइन । तर, किसान कसरी बाचिरहेको छ । किसानका समस्या के छन् भनेर एक चोटि बुझ्न आइदिए पनि हुन्थ्यो ।’ उनले नगरमै केरा खेतीका लागि उत्तम ठाउँ वडा नम्बर ४ भए पनि स्थानीय सरकारले यस क्षेत्रका केरा खेती गर्ने किसानलाई बेवास्ता गरेको बताए ।

‘हाम्रो अभिभावक भनेकै सरकार हो । सरकारले यस्तो अवस्थामा हाम्रो हौसला बढाउनै पर्छ’ उनले भने ‘कहिले काहीँ आएर हामी हेरौला नि भनेर सान्त्वना दिइदिए पनि मनोबल उच्च हुन्थ्यो ।’ उनले केरा खेती गर्ने किसानको सङ्ख्या धेरै भए पनि अधिकांश किसान धेरै समय टिक्न सक्ने अवस्था नरहेको बताए । ‘यस क्षेत्रमा केरा खेती गर्ने किसान जति थपिन्छन् त्यती नै पलायन पनि भइरहेका हुन्छन्’ उनले भने ‘नयाँ लगाउँदै जान्छन् पुराना छोड्दै जान्छन् । यही क्रम चलिरहेको छ ।’

उनले नगरले केही ठाउँमा ठुला बोरिङ हालेको सुने पनि व्यवसायीक रूपमा खेती गर्ने किसानको पहुँचमा नरहेको बताए । ‘मलाई यो ठाउँमै व्यवसायीक केरा खेती गर्न थालेको १० वर्ष भइसकेको छ । तर, अहिले सम्म नगरले हालेको बोरिङबाट सिचाइ गर्न पाएको छैन’ उनले भने ‘व्यवसायीक रूपमा काम गर्ने किसान समस्यामा छन् ।’ उनले पछिल्लो समय मुलमै पानी सुकेकाले नहरहरू पनि रितै रहेको बताए । उनले पछिल्लो समय सरकारले नगरमा लगानी गरिरहेको भए पनि मूल नै सुकेकाले उक्त लगानी खेर जाने जोखिम रहेको बताए ।

navjiwan hospital

२०६४ सालमा ३ कट्ठा जग्गाबाट केरा खेती सुरु गरेका जेठाराले अहिले कृष्णपुरको वडा नम्बर ४ र ५ मा १० बिगाहा र कैलालीको जमुनाभाडीमा ३० बिगाहा गरी ४० बिगाहा जग्गा भाडामा लिएर व्यवसायीक केरा खेती गर्दै आएका छन् । फरक फरक ठाउँमा व्यवसायीक केरा खेती गरेका उनले सिचाइको समस्या भने सबैतिर उस्तै भएको बताए । ‘पहिले यती धेरै समस्या हुन्थेन तर, यस वर्ष लामो समय खडेरी हुँदा पानीको निकै समस्या भएको छ’ उनले भने ‘यसको विकल्प खोजिएन भने किसान बाच्न निकै समस्या हुन्छ ।’

उनले केरा खेतीमा जोखिम भए पनि केरा खेतीको बिमा गर्न पनि कम्पनीहरूले आनाकानी गर्ने गरेको बताए । ‘केरा खेतीमा रोग व्याधि सँगै हावाहुरीले धेरै क्षति गर्ने जोखिम हुने भएकाले बिमा कम्पनीले यसको जोखिम लिनै चाहँदैनन्’ उनले भने ‘केरा खेतीका लागि बैङ्कको लोन लिँदा लोन प्रक्रिया पु¥याउन मात्रै बिमा गरिदिन्छन् । तर, सो अवधिमा किसानको नोक्सानी भए पनि क्षतिपूर्ति दिइदैन् । यसको भुक्तभोगी म पनि हु ।’ उनले केरा खेतीका लागि गत वर्ष कृषि विकास बैंकबाट लोन लिँदा ६० हजार बिमा बापतको रकम काटिएको भए पनि पछि केरामा क्षति हुँदा क्षतिपूर्ति दिन बिमा कम्पनीले आनाकानी गरेको बताए ।

आधुनिक प्रविधिको प्रयोग

केरा खेतीमा पछिल्लो समय विभिन्न समस्या सँग जुधिरहेका जेठाराले केरा खेती गर्ने देखि पकाउन आधुनिक प्रविधिको प्रयोग गर्दै आएका छन् । केरा खेतीमा प्रतिस्पर्धा बढेका कारण उनले लगानी बढी र मूल्य कम हुन थालेपछि केरामा आधुनिक प्रविधि प्रयोग गर्न थालेका हुन । जसका लागि उनले उत्पादन भएको केरा राईपेनिङ्ग च्याम्बर पकाएर बिक्री गर्दै आइरहेका छन् ।

राईपेनिङ्ग च्याम्बरमा केरा पकाउँदा भारतबाट आयात गरिएको केरा भन्दा पनि उच्च गुणस्तरको केरा तयार गर्न सकिने उनले बताए । दैनिक ५ हजार दर्जन केरा पकाउन सक्ने क्षमताको राईपेनिङ्ग च्याम्बर सञ्चालन गरेका जेठाराले अन्य किसानहरूले उत्पादन गरेको केरा समेत किनेर बिक्री वितरण गर्दै आएका छन् । तर, नेपाली केरा एकै पटक उत्पादन हुने भएकाले हाल पूर्ण क्षमतामा राईपेनिङ्ग च्याम्बर सञ्चालनमा आउन नसकेको उनले बताए ।

भिडियो