रुपक खड्का, बझाङ – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङले जिल्लाको सबैभन्दा बढीमात्रामा आलु उत्पादन हुने सुर्मा गाउँपालिका–४ स्थित थुकुन्डाडा गाउँमा रस्टिक स्टोर निर्माण गरेको छ । आलुको बजारीकरण र उन्नत बिउबिजनका लागि सुरक्षित भण्डारणका गर्ने समस्या झेल्दै आएको सो ठाँउका किसानको उत्पादनलाई सुरक्षित भण्डारण गर्न रस्टिक हाउस निर्माण गरिएको हो ।
रस्टिक हाउस निर्माण भएपछि कृषक खुसी भएका छन् । स्थानीय स्तरमा धेरै मात्रामा आलु उत्पादन हुने र ढिलो सम्म भण्डारण गर्नेका लागि रस्टिक हाउस निर्माणले सहयोग पुग्ने र आलु कुहिने ,किरा लाग्ने समस्या कम हुने कृषक युबराज सुर्मेलिले बताए । उनले भने ‘हामीले उत्पादन त धेरै गर्छौ तर भाउ पाउदैनौ, कुहिएर खेर जान्छ, अन्य बालीको उत्पादन कम हुने भएकोले गाउँका सबैले खाद्यान्नको गुजारा आलु बेचेर नै गर्ने गरेका छौ ।’

१४ लाख रुपियाँको लागतमा निर्माण भएको रस्टिक हाउस विशेषगरी आलुको बिउँलाई सुरक्षित भण्डारण गर्नेका लागि प्रयोग गर्न परियोजना इकाई बझाङका प्रमुख चरित्र नारायण यादवले किसानलाई आग्रह गरेका छन् ।
५ मेट्रिक टन क्षमताको रस्टिक हाउस निर्माणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङबाट आव २०८०÷८१ को स्वीकृत कार्यक्रम मार्फत १२ लाख, र सुर्मा सेरोफेरो बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षि फर्मको अनुदानबाट २ लाख गरि जम्मा १४ लाख लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो।

परियोजनाले अघिल्लो पटकको कार्यक्रम मार्फत सुर्मा गाउँपालिका – १ को दौलिचौरमा रस्टिक स्टोर निर्माण गरेको र उक्त स्टोरमा जम्मा भएको १ सय ५० क्विन्टल आलुले राम्रो मुल्य पाएको र बिउँका लागि पनि सुरक्षित भएको वडा नम्बर १ का अध्यक्ष दिनेश बोहराले बताए ।
आलुको पकेट क्षेत्र मानिएको यस क्षेत्रमा रस्टिक हाउस नहुँदा उत्पादित आलुको सुरक्षा र बजारीकरणमा चुनौती बनेकोमा अब किसानको उत्पादन र बजारीकरण मात्रै नभई आलुको बीउ समेत जोगाउन सकिने सुर्मा सेरोफेरो कृषि फर्मका सदस्य हरिलाल बोहराले बताए ।
उनले भने ‘यसअघि घरमा भण्डारण गरेको आलु अत्याधिक पानीका कारण कुहिने, कीरा लाग्ने, मुसाले खाने र रोग तथा प्रतिकुल वातावरणका कारण चाडै नोक्सान हुने गर्दथ्यो तर अब त्यो चिन्ताबाट मुक्त भएको छ ।’

त्यसैबिच शनिबार प्रधानमन्त्री आधुनिकीकरणका प्रमुख यादवको अध्यक्षतामा उक्त रस्टिक हाउसको सयुक्त अनुगमन गरेका थिए । भवनको भौतिक प्रगति बारे अनुगमन गर्न गएको टोलीमा प्रमुख जिल्ला अधिकारी बिश्ववामित्र कुइकेल, जिल्ला समन्वय समितिका सदस्य गोरख बहादुर सिह, प्रहरी नायब उपरीक्षक भरत शाह , सेनानी धिरज रावत, प्रअअ गोबिन्द्र प्रसाद पाण्डे, वन डिभिजन कार्यलय बझाङका प्रमुख शम्भु प्रसाद तिवारी लगायतको सहभागिता रहेको थियो ।
















