डडेल्धुरा – डडेल्धुराको आलीताल गाउँपालिकाका किसान व्यवसायीक बाख्रापालनमा जुटेका छन । चम्साल, मेलखर्क, देउवागाउँका स्थानीयहरु आधुनीक खोर निर्माण गरेर बाख्रा पालनमा जुटेका हुन । बाख्रा पालन गर्दै आएका किसानलाई भेटेरीनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराले खोर बनाउन अनुदानमा सहयोग गर्दै आएको छ ।

बृहत बाख्रा पालन पकेट क्षेत्रका रुपमा विकास गर्न यस क्षेत्रका किसानलाई अनुदानमा खोर निर्माणका लागि भेटेरीनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले २० लाख रकम खर्च गरेको कार्यालय प्रमुख देवराज भट्टले बताए । उक्त रकम ५० प्रतिशत अनुदानमा खोर निर्माणका लागि खर्च गरिएको उनले बताए ।

‘यस क्षेत्रका किसान पहिले देखि नै बाख्रा पालन गर्दै आईरहेका थिए । कम्तिमा दुई हजार बाख्रा पालन गर्न बृहत बाख्रा पालन पकेट क्षेत्र बनाएका छौ’ उनले भने ‘यहाँका २७ परिवारहरुले काठका खोर निर्माण गरिसकेका छन ।’
स्थानीय लक्ष्मण जोशीले सालको काठको खम्बा बनाई खोर निर्माण गरेको बताए । एक सय भन्दा बढी बाख्रा पालन गरेका जोशीले वर्षमा कम्तिमा पनि १० लाख रुपियाँ आम्दानी गर्दै आइरहेका छन । ‘चार–पाँच बाख्रा त यहाँका सबै स्थानीयहरु पाल्दै आएका थिए’ उनले भने, ‘मैले बढी पालेको देखे पछि अरुहरुले पनि पाल्ने ईच्छा देखाए । त्यसपछि सहयोग माग्न म भेटेरीनेरी अस्पताल पुगे । त्यहाबाट खोर निर्माण गर्न केही रकम पाउने भएपछि समति बनाई खोर निर्माण गरेका हौ ।’

















