अत्तरिया – विश्वभर विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले पीडितको पीडामा मलम लगाउन स्थापना भएको रेडक्रस अत्तरिया उपशाखा भने आफै पीडामा छ । रेडक्रसको अत्तरिया उपशाखाले ३ वर्ष अघि आफ्नै भवन निर्माण गरेको भए पनि अहिले त्यसलाई जोगाउने चुनौती एकातिर छ भने संरचनाको स्वामित्वको विवादले अन्यौलता थपेको छ ।
२०७८ साल चैत्र १८ गते तत्कालीन मेयर हरि सिंह साउदले उद्घाटन गरेको रेडक्रस भवन हाल वर्षै पहिले निर्माण भएर छोडिएको जस्तो जीर्ण बनिसकेको छ । भवन सँगै निर्माण भएका शौचालयका ढोका फुटिसकेका छन् भने भवन ठाउँ ठाउँमा क्षतविक्षत भएको छ । लाखौँ रकम खर्चेर निर्माण गरिएको संरचनाको जगेर्ना नहुँदा अहिले जीर्ण बन्ने खतरा छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा अत्तरियाका सभापति भरत खड्काले भने बनेको संरचना संरक्षणको लागि घेरबारको आवश्यकता भए पनि विभिन्न व्यवधान उत्पन्न भएको बताए । ‘हामीले रेडक्रसको भवन बनाइसकेपछि सेनाले आफ्नो भोगाधिकारको जग्गा भएको भन्दै थप निर्माणका काम गर्न रोक लगाएको छ’ उनले भने ‘सेनाले अहिले जे छ त्यत्तिकै रहन दिनुस् । न एक इँटा थप्नुस्, न एक इँटा निकाल्नुस् भनेपछि हामी अन्योलमा छौ ।’ उनले संरचना बनाए पनि घेरबार गर्न नपाउँदा भवन संरक्षण गर्न निकै चुनौती रहेको बताए ।

‘अहिले भवनको ठाउँ ठाउँमा तोडफोड गरिएको छ । भवन पछाडि बनाएको शौचालयको ढोका तोडफोड भएको छ । पानीका मोटर दुई चोटि चोरी भइसके’ उनले भने ‘अहिले भवन वरिपरिको जमिन अतिक्रमण भइरहेको छ । भवनको प्राङ्गणको माटो पनि चोरी भइरहेको छ ।’
उनले भवनको पर्खाल बनाउन नपाउँदा अत्तरिया रेडक्रस धेरै असुरक्षित भएको बताए । उनले अत्तरियामा ब्लड बैङ्क पनि सञ्चालन गर्ने योजना भए पनि संरचना स्वामित्वको विवादका कारण अन्योलमा रहेको बताए । ‘सेनाले पनि यसमा अवरोध नगरी बनिसकेको संरचनालाई घेरबार गर्न सीमाना छुट्टाएर काम गर्न दिएको भए सहज हुन्थ्यो’ उनले भने ‘सबैलाई चाहिने रेडक्रस सेनाले आफै लगेर पनि यसलाई सञ्चालन गर्न दिएको भए सहज हुन्थ्यो ।’
रेडक्रस उपशाखा अत्तरियाका सचिव कमल कडायतले रेडक्रस सबैको परोपकारी संस्था भएकाले यसको संरक्षणका लागि यस क्षेत्रका सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । उनले सहयोग मागेर बनाएका संरचनामा क्षति पु¥याउने, चोरी गर्ने काम भएकाले यसको संरक्षणको लागि सेनाले अवरोध गर्न नहुने बताए । उनले तत्कालका लागि भवनको घेर बार लगाउन पाए मात्रै यसको संरक्षणमा धेरै सहयोग पुग्ने बताए । ‘हामीले सुदूरपश्चिममै ठुलो उपशाखाको रूपमा यसलाई विकास गर्ने लक्ष्य लिएर काम अगाडि बढाएका थियौ । यो सबैको साझा सम्पत्ति पनि हो’ उनले भने ‘यसको संरक्षणका लागि सबैको चासो हुन आवश्यक छ ।’
उनले विपद् लगायतका जोखिम रहेको अत्तरिया क्षेत्रमा रेडक्रसको भूमिका महत्वपूर्ण हुने भएकाले यसको संरक्षणमा सबै क्षेत्रबाट सहयोग गरिदिन आग्रह गरे ।
अत्तरियामा २०६५ सालमा रेडक्रस उपशाखाको स्थापना भएको थियो । स्थापना पछि पूर्वपश्चिम राजमार्ग छेउको गोदावरी नगरपालिका – २ मा भवन निर्माणको लागि रेडक्रसले जग्गा भोगचलनमा लिएको थियो । सोही जग्गामा २०७८ सालमा भवन निर्माण गरिएको भए पनि सेनाले भने उक्त जग्गा आफ्नो भोगाधिकारमा रहेको दाबी गरेपछि थप संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । जसले गर्दा भवनको संरक्षणमा चुनौती हुनुका साथै भविश्वमा के हुने भन्ने अन्योल कायमै छ ।


















