धनगढी – कैलालीमा पोलियो विरुद्धको आईपिभी खोप अभियान २०८१ शुरु हुने भएको छ । यहि जेठ १३ देखी २६ गते सम्म जिल्लाका १३ वटा स्थानीय तहका ५ बर्ष मुनिका ४५ हजार भन्दा बढी वालवालिका लाई खोप लगाउँने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । २०७३ बैशाख देखि २०७५ असोज सम्म आई पिभीखोप लगाउँन छुटेका बालबालिकाहरु लाई पोलियो रोग लाग्ने उच्च जोखिम हुदाँ रोगबाट सुरक्षित गराउँन खोप अभियान संञ्चालन भईरहेको हो ।

पोलियो उन्मुलन भएका दक्षिण एसियाका देशहरुमा पोलियो रोगबाट पुर्णरुपमा सुरक्षित हुन आइपिभी खोप अनिवार्य भएको चिकित्सकहरुले बताएका छन् । यस खोप अभियानलाई प्रभावकारी बनाउँन आईपिभी खोप लगाउँने उमेर समुहका अधिकाशं बालवालिकाहरु विद्यालय जाने उमेरका भएका कारण विद्यालयमा खोप केन्द्रहरु राखिने छन् ।

त्यस्तै विद्यालय नजाने बालवालिकाहरुले पनि नजिकैको विद्यालयमा गएर खोप लगाउँन सक्नेछन् । विद्यालयमा समेत खोप लगाउँन छुटेका बालवालिकाले स्थानीय स्वास्थ्य संस्थामा गएर समेत खोप लगाउँन सक्ने छन् । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आसुतोष श्रेष्ठले खोप अभाबका कारण २०७३ साल बैशाख देखि २०७५ असोज महिना सम्म जन्मिएका बालववालिकाहरुले आईपिभी खोप लिन जरुरी रहेको जानकारी दिए ।
















