धनगढी – चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि जिल्ला अस्पताल बैतडीमा आकस्मिक र वार्डबाहेकका सेवा आइतबारदेखि ठप्प भएका छन ।

विगत ९ महिनादेखि अतिरिक्त भत्ता र सार्वजनिक बिदामा काम गरे बापतको भत्ता रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकहरुले आइतबारदेखि काम ठप्प पारेका हुन । उनीहरुले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिक र वार्ड बाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए । चिकित्सकहरुले बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्तिमेटम शनिबार सकिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको चिकित्सकहरुको आरोप छ । आन्दोलनरत डा. गोविन्द बोगटीले चिकित्सकहरु मात्र नभएर अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु पनि अतिरिक्त भत्ता सुविधाबाट बञ्चित रहेको बताए ।

















