काठमाण्डौं – ५ दिन अघि काठमाण्डौंबाट बेपत्ता भएका डोटीका दिल्ली ओझा अझै फेला परेका छैनन् । अल्जाइमर्सका रोगी ५२ वर्षीय ओझा बैशाख १३ गते बिहान कार्यालय जान घरबाट निस्किएका थिए । दुर्घटनामा परेर टाउकोमा चोट लागेपछि ओझा विगत तीन वर्षदेखि अल्जाइमर्सको औषधि खाइरहेका थिए । अल्जाइमर्सको कारण उनको स्मरण क्षमता कमजोर थियो ।

सोही कारण सहयोगी समेत राखिएको भएपनि बैशाख १३ गते काठमाण्डौंको ग्वार्को चोकमा पुगेपछि सहयोगी सँग छुट्टिन पुगेका थिए । पछि सीसी टिभीमा हेर्दा उनी ग्वार्को चोकमा सहयोगी नदेखेपछि यताउता हेरेर आत्तिएको देखिएको उनकी श्रीमती भीमा ओझाले बताएकी छिन ।

त्यसपछि इमाडोलतिर लाग्नुपर्ने उनी कोटेश्वरतिर हिंडेका थिए । प्रहरीले खोजी गर्दा भक्तपुर राधेराधेको सीसी टिभीमा उनी हिंडिरहेको देखिएका थिए । पछिल्लो पटक भक्तपुर क्षेत्रको सीसी टिभीमा देखिएकाले सो आसपासमा भेटिए परिवारलाई खबर गरिदिन भीमाले आग्रह गरेकी छिन् ।
















