कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मा पानीमा केमिकल मिसिएका कारण धान र उखु क्षति हुँदा पनि किसानले राहत पाउन सकेका छैनन । दोदा नदीमा आएको बाढीले डुबान भएको क्षेत्रमा करिब अढाई सय बिघामा धानबाली र १ सय १० बिघाको उखु नष्ट भएपनि अझै किसानहरुले क्षतिपुर्ती पाउन नसकेका हुन ।
बाढीको पानीमा केमिकल मिसिएका कारण धान र उखु क्षति भएको पुष्टि भइसकेको छ । तर उक्त केमिकल कहाँबाट आयो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । नजिकै रहेको भागेश्वर चिनी मिलको लापरबाहीले उक्त केमिकल पानीमा मिसिएको पीडित किसानको आरोप छ ।


कृषि प्राविधिक पनि यही अनुमानमा छन् । सुगर मिल व्यवस्थापनले भने उक्त केमिकल मिलबाट नबगेको दाबी गर्दै आएको छ । उक्त क्यामिकल युक्त पानी मिसिएको बाढीले पुनर्वास–५ को सिमरी र ४ को परासनमा धान र उखु सुकेको थियो । नमुना परीक्षण गर्दा उक्त पानीमा केमिकल अक्सिजन डिमान्ड (सीओडी) र बायोकेमिकल अक्सिजन डिमान्ड (बीओडी) को मात्रा भेटिएको थियो ।
त्यसलगत्तै कृषि शाखाले अनुगमन गरेर किसानबाट निवेदन माग गरेपछि अझै किसानलाई क्षतिपुर्ती दिइएको छैन ।
नगरपालिकाका कृषि शाखा प्रमुख कर्ण शाहीले नगर प्रमुखसहितको टोलीले आवश्यक छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्दा केन्द्रबाट विज्ञ टोली मगाउन पहल गर्ने निर्णय भएपनि अझै विज्ञ टोली नआएको बताए ।



















